शनिबार, १२ फागुन २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी शीर्ष ८ मा

बिहीबार, १४ मङ्सिर २०८०, १७ : ०५
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी उच्च स्थानमा परेको छ । एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने विदेशी मुलुकका नागरिकहरूको सूचीमा नेपाल समेत समेटिएको हो ।

प्रतिवेदनअनुसार अष्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल ८औँ स्थानमा परेको छ ।  प्रतिवेदनअनुसार अष्ट्रेलियाको रियलस्टेटमा सबैभन्दा धेरै लगानी गर्ने देशहरूको सूचीमा चीन पहिलो नम्बरमा छ ।

यस्तै, हङकङ दोस्रो स्थानमा हुँदा भियतनाम तेस्रो र बेलायत चौथो स्थानमा छ । यसपछि क्रमशः सिंगापुर, भारत, ताइवान र नेपाल छन् । नेपालपछि इण्डोनेसिया र मलेसिया समेत सबैभन्दा धेरै लगानीकर्ता १० देशहरूको सूचीमा परेका छन् । नेपालबाट रियल स्टेटमा लगानी गर्न ५८ वटा प्रस्ताव आएको जनाइएको छ । जुन, अघिल्लो त्रैमासमा ६८ वटा थियो ।

यस अवधिमा १० वटा लगानीको प्रस्ताव घटे पनि यो उच्च लगानीको प्रस्ताव गर्ने १० देशमध्ये ८औँ स्थान भएको अष्ट्रेलियन सरकारले जनाएको छ । पहिलो स्थानमा रहेको चीनबाट अष्ट्रेलियाको घरजग्गामा लगानी गर्न ४४० वटा प्रस्ताव आएको जनाइएको छ । यस्तै, हङकङबाट १३० र भियतनामबाट १२३ वटा प्रस्ताव आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो प्रतिवेदनका आधारमा अष्ट्रेलियामा भएको लगानीमध्ये सबैभन्दा धेरै रियल स्टेटमा थियो । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा यस क्षेत्रमा मात्रै १९ बिलियन अमेरिकी डलरभन्दा धेरैको लगानी भएको छ । जुन, सोही आर्थिक वर्षको अघिल्लो त्रैमासकै हाराहारी हो । अष्ट्रेेलियामा भित्रने विदेशी लगानीमा घरजग्गाले समेत ठुलो हिस्सा ओगट्दै आइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार १ अक्टोबरदेखि ३१ डिसेम्बर २०२२ मा अष्ट्रेलियामा कूल ३३७ वटा विदेशी लगानीको प्रस्ताव आएको छ । यस अवधिमा मात्रै ५८ बिलियन अमेरिकी डलरभन्दा धेरैको लगानी प्रस्तावना आएको अष्ट्रेलियन सरकारले जनाएको छ ।

यस्तै, अष्ट्रेलियामा सबैभन्दा धेरै विदेशी लगानी आउने देशको सूचीमा भने अमेरिका पहिलो स्थानमा छ । अमेरिकाबाट मात्रै १३४ वटा लगानीको प्रस्ताव आएको जनाइएको छ । यसपछि चीनबाट ४९ प्रस्ताव आउँदा तेस्रो स्थानमा रहेको सिंगापुरबाट ६४ वटा लगानीको प्रस्ताव आएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप