शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो

शनिबार, १६ मङ्सिर २०८०, ०५ : ३६
शनिबार, १६ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ निरन्तर उकालो लागेको छ । काठमाडौँ उपत्यकाबाहेक प्रदेशका १० वटा जिल्लामा विगत ३ वर्षको अवधिको तथ्याङ्क विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर उकालो लागेको पाइएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा लैङ्गिक तथा घरेलु हिंसाका घटना १४ प्रतिशतले बढेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशका १० जिल्लामा २ हजार २१९ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ५२८ र गत आर्थिक वर्ष २०७९/०८० मा २ हजार ५२० वटा घटना भएको छ ।

१० जिल्लामा चालु आर्थिक वर्षमा ७८६ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् । उनका अनुसार चितवनमा सबैभन्दा बढी लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको तथ्याङ्क छ । चितवनमा २४८, मकवानपुरमा १५७, सिन्धुलीमा ५३, धादिङमा ६०, काभ्रेमा १२२, रामेछाप १७, सिन्धुपाल्चोक ५१, दोलखा २६, नुवाकोट ४९ र रसुवामा ३ वटा त्यस्ता घटना भएको उनले बताइन् ।

प्रदेशमा चालु  आर्थिक वर्षमा ३६४ वटा लैङ्गिक हिंसा र ४२२ वटा घरेलु हिंसाका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क छ । लैङ्गिक हिंसाका घटनाको तथ्याङ्कमा सबैभन्दा बढी चितवनमा ८१ वटा र सबैभन्दा कम रसुवामा २ वटा छन् ।

तथ्याङ्क अनुसार जिल्लागत रुपमा चितवनमा ८१ वटा, काभ्रेमा ६२ वटा, मकवानपुरमा ५५, धादिङमा ३७ वटा, सिन्धुलीमा ३४ वटा नुवाकोटमा ३१ वटा, दोलखामा २० वटा, सिन्धुपाल्चोकमा ३० वटा र रामेछापमा १२ वटा लैङ्गिक हिंसाका घटना भएका छन् ।

यस्तै चालु आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा मध्ये चितवनमा १६७ वटा, काभ्रेमा ६० वटा, मकवानपुरमा १०२ वटा, धादिङमा २३ वटा, सिन्धुलीमा १९ वटा, नुवाकोटमा १८ वटा, दोलखामा ६ वटा, सिन्धुपाल्चोकमा २१ वटा, रामेछापमा ५ वटा र रसुवामा एक वटा घरेलु हिंसाका घटना भएका छन् ।

गत आर्थिक वर्ष चितवनमा ८०० र रसुवामा २७ वटा लैङ्गिक हिंसाका घटना भएका थिए । घरेलु हिंसातर्फ भने मकवानपुरमा १ हजार १४६ वटा र सबैभन्दा कम रसुवामा ५ वटा घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा ७ हजार ३२१ वटा लैङ्गिक हिंसाका घटना भएको थियो भने ४ हजार ४६ वटा घरेलु हिंसा भएको थियो ।

लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडा मार्फत् विभिन्न क्रियाकलाप भएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् । उनका अनुसार लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेशका १० जिल्लामा १० वटा जिल्लास्तरीय समिति गठन गरिएको छ भने महानगरस्तरीय एक वटा, नगरपालिकास्तरीय २५ वटा, गाउँपालिकास्तरीय ६१ वटा र वडास्तरीय ७७५ वटा सहित ८७२ वटा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप