शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

मसाज सेन्टरको आवरणमा ७ हजारसम्म असुलेर ‘यौनधन्दा’

गेस्ट हाउसमा पनि मौलाउँदै यौन व्यापार
सोमबार, १८ मङ्सिर २०८०, १५ : १९
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्ग र रातोपुलस्थित दुईवटा मसाज सेन्टरका सञ्चालक हुन् सङ्खुवासभाका दिनेश पौडेल । काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा सञ्चालित नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर र रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरको आवरणमा पौडेलले ‘यौनधन्दा’ चलाएको आरोप छ । 

मङ्सिर ८ मा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरमा छापा मारेको थियो । त्यहाँबाट ब्युरोले एक जना नाबालिग र दुई जना युवतीलाई उद्धार गरेको छ । उनीहरूलाई पौडेलले जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य बनाएको अनुसन्धानबाट थाहा भएको मानव बेचबिखन ब्युरोका प्रवक्ता (एसपी) कृष्णप्रसाद पङ्गेनीले रातोपाटीलाई बताए ।

ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका र पढलेख नभएका किशोरीहरूलाई दिनेशले ‘ब्युटी पार्लर र स्पासम्बन्धी तालिम गराउँछु’ भनेर काठमाडौँमा ल्याउने गरेका थिए । काठमाडौँमा ल्याएपछि उनले शम्भुमार्गस्थित ‘नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर’ मा उनले तालिम गराउँथे । त्यसपछि रातोपुलमा लगेर मसाज गराउने र बिस्तारै ग्राहकहरूसँग जबरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको किशोरीहरूले प्रहरीलाई बताएका छन् । 

उद्धार गरिएका किशोरी र नाबालिगको उजुरीका आधारमा पक्राउ गरेर पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले जानकारी दिए । पौडेलले चार वर्षदेखि ‘स्पा एन्ड ब्युटी पार्लर’ को आवरणमा यौनधन्दा चलाएको आरोप छ । 

ग्राहकसँग किशोरीहरूलाई यौन सम्पर्क गर्न बाध्य बनाएर दिनेशले ४ हजारदेखि ७ हजारसम्म असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी पङ्गेनी भन्छन्– ‘प्रतिव्यक्ति ४ हजारदेखि ७ हजार असुलेर आरोपितले किशोरीहरूलाई थोरै कमिसन दिने गरेको भेटिएको छ ।’ 

४३ वर्षीय दिनेश सङ्खुवासभाको चिचिला गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । 

रातोपुलस्थित मसाजमा जागिर दिने भनेर किशोरी र महिलाहरूलाई राखेर पछि जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ग्राहकसँग स्पा सञ्चालकले पहिल्यै रकम लिएर पीडितहरूलाई थोरै रकम दिने गरेका थिए । पीडितहरूलाई आरोपीले मासिक १८ हजार तलब दिने गरेका थिए । 

स्पा सेन्टरमा थाई मसाज, जडीबुटी मसाज, वेल मसाज र ड्राइ मसाजसम्बन्धी सेवा दिने गरिन्थ्यो । पौडेलले थाई मसाज बापत ३ हजार र ड्राई मसाजको शुल्क १ हजार लिएर शारीरिक सम्पर्क गराएर थप प्रतिग्राहक ४ देखी ७ हजारसम्म असुल्ने गरेका हुन् । 

पीडितहरूलाई उद्धार गरेपछि ब्युरोले मङ्सिर १० गते सञ्चालकलाई पक्राउ गरेको थियो । उद्धार गरिएका नाबालिग र किशोरीहरूलाई परामर्शपश्चात आफन्तको जिम्मा लगाइएको छ । उद्धार गरिएकाहरू ८ र ९ कक्षासम्म पढेका छन् । 

ग्राहकसँग यौन सम्पर्क गर्न अस्वीकार गरेमा पौडेलले ‘पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो मसँग छ, नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाउँछु’ भनेर त्रासमा राख्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । 

गेस्ट हाउसमा पनि मौलाउँदै यौन व्यापार 

काठमाडौँस्थित कलङ्की र नयाँ बसपार्कमा रहेका गेस्ट हाउसमा पनि यौनधन्दा चलिरहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले जबर्जस्ती यौनधन्दामा लगाइएका तीन जना नाबालिगहरूलाई उद्धार गरेको छ । कलङ्की र नयाँ बसपार्कबाट तीन जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्युरोका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।

ब्युरोले नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेस्ट हाउस सञ्चालन गर्ने पूजा राना उर्फ सपना तामाङलाई पक्राउ गरेको छ । गेस्ट हाउसमा किशोरी र नाबालिगलाई राखेर यौनधन्दा सञ्चालन गरेको आरोपमा तनहुँ घर भएकी पूजा रानालाई प्रहरीले पक्राउ गरेको हो । 

मङ्सिर १४ मा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी पङ्गेनीले बताए । प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपितले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आकर्षक सुविधासहित काममा लगाउने आश्वासन दिएर काठमाडौँमा बोलाउने र यौनधन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

कलङ्की र नयाँ बसपार्कको गेस्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी पङ्गेनीले जानकारी दिए । पूजा रानाले विगत १० महिनादेखि सो काम गरेको खुलेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप