मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा सम्मेलनको लहर : लुम्बिनीपछि अन्य प्रदेश पनि जुटे तयारीमा

सोमबार, १८ मङ्सिर २०८०, १५ : ५७
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका विभिन्न कार्यसमितिहरुले सम्मेलन गरिरहेका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सबै तहमा २०७८ मा अधिवेशन भएपछि अहिले सम्मेलनको लहर चलिरहेको छ ।

केही समयअघि पालिका तहका सम्मेलन भएकोमा अहिले जिल्ला र प्रदेश सम्मेलनले तीव्रता पाएको हो । कांग्रेसको विधानले पार्टी संरचनामा सात तहको परिकल्पना गरेको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले आ–आफ्नो सम्मेलन गर्नुपर्ने विधानमै उल्लेख छ ।

वडा कार्यसमिति ६ महिनाको एकपटक र त्यसभन्दा माथिका सबै तहले वर्षमा एकपटक सम्मेलन गर्नुपर्छ । प्रदेश अधिवेशन भएको दुई वर्षपछि कांग्रेसका प्रदेश कार्यसमितिले प्रथम सम्मेलन गरिरहेका छन् ।

नेपाली कांग्रेसले २०७८ मङ्सिर १६ मा ६ वटा प्रदेश अधिवेशन गरेको थियो । मधेस प्रदेशमा भने पुसको पहिला साता कांग्रेसको प्रदेश अधिवेशन भएको थियो ।

२०७२ को संविधान अनुसार कांग्रेस २०७८ मा मङ्सिरबाट प्रादेशिक संरचनामा गएको थियो । कोशी प्रदेश (तत्कालीन प्रदेश १)को प्रथम अधिवेशनले मङ्सिर १९ मा उद्धव थापा नेतृत्वको कार्यसमिति छानेको थियो ।

मधेस प्रदेश (तत्कालीन प्रदेश २)मा पुस ९ मा कृष्णप्रसाद यादव सभापतिमा निर्वाचित भएका थिए । बागमती प्रदेशको प्रथम अधिवेशनबाट मङ्सिर १९ मा इन्द्रबहादुर बानियाँ नेतृत्वको कार्यसमिति चुनियो ।

गण्डकी प्रदेशको पहिलो सभापति हुने मौका शुक्रराज शर्मालाई मिल्यो भने लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अमरसिंह पुन नेतृत्वमा आए । यस्तै कर्णाली प्रदेशमा ललितजंग शाही सभापति बन्दा सुदूरपश्चिमको प्रथम अधिवेशनबाट वीरबहादुर बलायरको नेतृत्वमा कार्यसमिति चुनियो ।

सात वटा नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रथम अधिवेशन सबैभन्दा पहिले गरेको छ । कांग्रेस लुम्बिनी प्रदेशले मङ्सिर १६ र १७ गते प्रथम प्रदेश सम्मेलन गरिसकेको छ ।

गण्डकी प्रदेशमा पुस ३ र ४, मधेसमा पुस ५ र ६, बागमती पुस ७, कोशीमा पुस ९ गते सम्मेलन तोकिएको छ । प्रदेश सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यसमितिले कहिले सम्मेलन गर्ने टुङ्गो छैन ।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले आगामी माघ पहिलो सातासम्म प्रदेश सम्मेलन गर्ने सङ्केत गरे । उनले भने, ‘ कर्णालीमा सबै जिल्ला सम्मेलन भएपछि प्रदेश सम्मेलन गर्ने भन्ने हाम्रो निर्णय छ । अहिलेसम्म चार वटा जिल्लाले सम्मेलन गरेका छैनन् ।’

शाहीका अनुसार डोल्पा, जुम्ला, पश्चिम रुकुम र सल्यानमा जिल्ला सम्मेलन भएको छैन । माघसम्म उक्त जिल्लामा सम्मेलन नभए पनि प्रदेश सम्मेलन हुने उनको भनाइ छ । चार जिल्लामा सम्मेलन नभएको भन्दै प्रदेश सम्मेलन अनन्तसम्म जाने कुरा भएन । तर, महासमिति बैठकअघि कर्णाली प्रदेश सम्मेलन हुने सम्भावना देखिएको छ ।’

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि प्रथम सम्मेलनको कुनै तयारी गरेको छैन । महासमिति बैठकअघि सुदूरपश्चिम प्रदेश सम्मेलन हुने सम्भावना नरहेको एक पदाधिकारीले बताए ।

महामन्त्री गगन थापाले २०८० साललाई पार्टीले सम्मेलन वर्षका रूपमा मनाउने योजना बनाएका थिए । उनका अनुसार २०७९ साल चुनावी वर्ष भएकाले पार्टी कुनै तहका सम्मेलन हुन सकेको थिएन । आम निर्वाचन सकिएपछि महामन्त्री थापाले पार्टीका सबै तहलाई सम्मेलन गर्न परिपत्र गरेका थिए ।

मातहतका कार्यसमितिले परिपत्रलाई बेवास्ता गरेको देखिन्छ । अहिलेसम्म २५ जिल्लाले मात्र सम्मेलन गरेका छन् । पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रमा पनि अत्यन्तै कम सम्मेलन भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले पुस १६–१९ मा गर्न लागेको महासमिति बैठकमा प्रदेश सम्मेलनबाट पारित प्रतिवेदनका विषयलाई स्थान दिने छ । उपसभापति पूर्णबहादुर खड्काको नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदनमा प्रदेश सम्मेलनमा बहस भएका विषयलाई समेटिने छ ।

सबै सम्मेलनमा आर्थिक, राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गराउन महामन्त्री थापाको निर्देशन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप