रुसीमा सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो ।
मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।
सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा रुसी सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।
यस्तो छ विज्ञप्ति
रुसी सेनामा निधन भएका नेपालीहरु सम्बन्धी प्रेस विज्ञप्ति
यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति मार्फत विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना सम्बन्धमा परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको ब्यहोरा स्पष्ट गरेको विदितै छ।
तथापि,रुसमा हालै देहायका ६ जना नेपाली नागरिकहरुको रुसी सेनामा कार्यरत रहँदा दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।नेपाल सरकार दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ।
निधन भएका नेपालीहरुको विवरण:
क्र. सं. नाम नेपालमा ठेगाना
१ सन्दिप थपलिया गोरखा
२ रुपक कार्की वाणगंगा-१, कपिलवस्तु
३ देवान राई पोखरा, कास्की
४ पितम कार्की पुतलीबजार-५, स्याङ्गजा
५ राज कुमार रोका मेलुङ्ग-६, दोलखा
६ गंगाराज मोक्तान इलाम-५, इलाम
यस सम्बन्धमा नेपाली नागरिकलाईरुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ।
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक श्री विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको ब्यहोरा जानकारी गराइन्छ।
त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने No Objection Certificate(NOC) लिएर मात्र यात्रा गर्नु हुन सर्बसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ।
अत: कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौँ
मिति: २०८०।०८।१८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण