मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तरकारी बजार

आलु र प्याजमा भ्याट : सिजनमै पाइन छाड्यो आलु

कालीमाटी बजारमा तीन दिनयता आलु र प्याजको मूल्यसूची राखिएन
बिहीबार, २१ मङ्सिर २०८०, १४ : १४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा सिजनमै आलुको अभाव देखिएको छ । सरकारले आलु र प्याजमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यापारीले कारोबार ठप्प पारेपछि अभाव देखिएको हो ।

 आलु र प्याजको आपूर्ति हुन नसक्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्सिर १९ गतेपछि दैनिक मूल्यसूचीमा आलुको मूल्यसमेत राखेको छैन । व्यापारीले नेपाली कृषि उत्पादनलाई भ्याट नलगाइने भनेर सरकारले आश्वासन मात्रै दिएको आरोप लगाएका छन् । 

अहिले बजारमा आलु र प्याजको आपूर्ति नभएकाले दैनिक मूल्य सूचीमा ती दुई वस्तुको मूल्य समावेश गर्न नसकिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘व्यापारीले आलु र प्याज नल्याएपछि हामीले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य राख्न सकेका छैनौँ,’ उनले भने । 

सरोकारवाला निकायसँग छलफल गरिए पनि बजारमा देखिएको आलु र प्याजको अभावलाई समाधान गर्न नसकिएको समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बताए । ‘आन्तरिक राजस्व विभागसँग छलफल गर्दा मौखिक रूपमा भ्याट लाग्दैन, कारोबार गर्नुहोस् भनिएको छ,’ पौडेलले भने, ‘तर कारोबार गर्दा भ्याटको खोजी भइरहेकाले प्यापारीले कारोबार ठप्प गरेका हुन् ।’

आलु र प्याजको कारोबारमा अरूले रोक नलगाएर व्यवसायी आफैँले कारोबार बन्द गरेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका  महासचिव प्रकाश गजुरेलले बताए । ‘आर्थिक वर्षको बजेट ल्याउँदा नै तरकारी छिटो बिग्रिने वस्तु भएकाले भ्याट बिलमा कारोबार गर्न समस्या हुने हामीले सरकारलाई जनकारी गराएका थियौँ,’ उनले भने, ‘पटक पटक हाम्रो समस्या सुझाएपछि तपाईँहरू कारोबार गर्नुहोस्, स्वदेशी उत्पादनमा भ्याट बिल नलाग्ने भनिएको थियो तर पछिल्लो समय आन्तरिक राजस्व विभागका अनुगमन टोलीले नियमन गर्ने क्रम स्वदेशमा उत्पादन भएको आलु र प्याजको हकमा पनि भ्याट बिल खोज्न थालेपछि स्वतःस्फूर्त रूपमा किसान र व्यवसायीले संयुक्त रूपमा आलु र प्याजको आपूर्ति ठप्प गरेका हुन् ।’ 

सरकारसँग तरकारीमा लगाइने भ्याटको विषयमा पटक पटक समन्वय गर्दा नेपाली कृषि उपजमा भ्याट नगलाइने आयातितलाई मात्रै लगाइने भनिएको उनले बताए । ‘भारतीय कृषि उपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो,’ उनले भने, ‘नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर कार्यान्वयन भएन, आश्वासन मात्रै दिइयो ।’ 

गजुरेलका अनुसार कारोबार गर्न सहज नहुँदासम्म व्यापारीले आलु र प्याजको आपूर्ति नगर्ने जनाए । ‘आलु र प्याजमा कारोबार गर्न समस्या भएको दुई÷तीन दिनदेखि पहल गर्दै छौँ ।’ गजुरेलले भने । 

सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले बताएका छन् । आलु र प्याजमा लगाएको भ्याटको विरोध गर्दै व्यवसायीले बुधवार (२० गते) देखि आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट लगाएकाले व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् । 

किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको आरोप लगाउँदै उपत्यकासहित देशभरका ठुला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका महासचिव भरत खतिवडाले जानकारी दिए । ‘जसले खेती गर्छ, उसले भ्याट बिल दिन सक्दैन,’ उनले भने, ‘बिक्रेताले पनि भ्याटमा कारोबार गर्न नसक्ने भएपछि आपूर्ति ठप्प गरिएको हो ।’

सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप