बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निर्वाचन गर्ने

सोमबार, २५ मङ्सिर २०८०, २० : ३८
सोमबार, २५ मङ्सिर २०८०

मस्को । क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले सोमबार बताएको छ । राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ । 

मार्चमा युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने केन्द्रीय निर्वाचन आयोगले बताएको छ । ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन । सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, “ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो ।”

निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् । रुसका अधिकांश विपक्षी नेता कारागार वा निर्वासनमा रहेकाले पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्ने अपेक्षा गरिएको छैन । क्रेमलिन र युक्रेनमा आक्रमणको समर्थन गर्ने सबै पाँच प्रमुख दललाई हस्ताक्षर सङ्कलनबिना सन् २०२४ को निर्वाचनका लागि उम्मेदवार प्रस्तुत गर्न अनुमति दिइएको छ । 

यसअघि युक्रेनले ‘युक्रेनी अधीनस्थ क्षेत्रहरूमा राष्ट्रपति निर्वाचन गराउने रुसको मनसायको दृढ निन्दा गर्न’ अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो । किएभले पश्चिमी मुलुकहरूसँग जिम्मेवार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउनसमेत आह्वान गरेको छ । 

रुसले यसअघि युक्रेन अधीनस्थ क्षेत्रहरूमा निर्वाचन गराएको छ । किएभ र पश्चिमी मुलुकहरूले घोषित मतदानलाई अमान्य भनेका थिए । मस्कोले सेप्टेम्बरमा चार युक्रेनी क्षेत्रमा स्थानीय अधिकारीहरूका लागि निर्वाचन गराएको थियो । 

एक वर्षअघि उसले ती क्षेत्रमा कब्जा गर्नका लागि ‘जनमत सङ्ग्रह’ गरेको थियो । दुवै निर्वाचनको किएभ र पश्चिमी मुलुकहरूले निन्दा गरेका थिए । रुसले सन् २०१४ मा एकतर्फी तरिकाले युक्रेनबाट क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको थियो । सोही समयदेखि त्यहाँ निर्वाचन हुने गरेको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप