शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको विवादबारे परराष्ट्र मन्त्री : कानुन बमोजिम आफ्नो दायित्व निर्वाह गर्छौँ

बिहीबार, २८ मङ्सिर २०८०, २३ : ११
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद गैरआवासीय नेपाली संघ ( एनआरएनए)को ११ औँ महाधिवेशन अन्तरगत निर्वाचनका क्रममा भएको विवादबारे बोलेका छन् । उनले धाँधलीको दाबी गरिएको विषयमा मन्त्रालय तत्कालीन तीन अध्यक्षको छानबिन रिपोर्टको प्रतीक्षामा रहेको बताए । 

यसअघि नै अध्यक्षहरू कुल आचार्य, रविना थापा र बद्री केसीले धाँधलीबारे छानबिनसम्बन्धी रिपोर्ट पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने भनेर विज्ञप्ति जारी गरेको जानकारी मन्त्रालयमा गराएको भन्दै साउदले तर अहिलेसम्म तीन अध्यक्षले छानबिनको परिणाम नदिएको बताए ।

कतार हुँदै युरोप भ्रमणका लागि जर्मनी पुगेका परराष्ट्रमन्त्रीले तीन वटै अध्यक्षले छानबिनको प्रतिवेदन अहिलेसम्म नदिएको बताए । ‘निर्वाचनका सन्दर्भमा केही कमी भयो भन्ने किसिमको वक्तव्य आयो । तीन जनामध्ये दुई वटा उम्मेदवारले परराष्ट्र मन्त्रालयमा छानबिन गरिदिन भनेर आवेदन पनि आएको छ । त्यसअघि तीन वटा अध्यक्षले संयुक्त वक्तव्य निकालेर हामी यसको छानबिन गर्छौँ र छानबिन पछि परिणाम निकाल्छौँ भनेर सार्वजनिक प्रतिबद्धता जनाउनु भएको छ । त्यसको बारेमा तीन वटै अध्यक्षले छानबिनको प्रतिवेदन हामीकहाँ ल्याएको छैन’, उनले भने । 

यसको बारेमा मन्त्रालयले अध्ययन गरिरहेको भन्दै साउदले आफू विदेशमा रहेका नेपालीहरू मिलेर अघि बढुन् भन्ने पक्षमै रहेको बताए । तर, नमिलेको खण्डमा सरकारले नियमअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ छ । ‘ विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरूलाई नेपालीहरूको एकता पनि अक्षुण्ण राख्ने गरी काम गर्नुस् भन्ने मेरो सल्लाह छ । बाँकी सरकारको तर्फबाट गर्ने कामहरू हामी कानुन बमोजिम आफ्नो दायित्व निर्वाह गर्छौँ नै’, उनले भने । 

११ औँ महाधिवेशनमा बद्री केसीले भेरो सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरके शर्मा र महेश श्रेष्ठले लगाउँदै आएका छन् । तर विवादका बिच बद्रीले शपथ लिएपछि शर्मा र श्रेष्ठले पनि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बनाएका थिए । दुई समूह भएपछि यति बेला परराष्ट्रमा एनआरएनएको विवाद विचाराधीन छ । 

एनआरएनएको निर्वाचनमा अध्यक्ष पदमा बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठ उम्मेदवार थिए । जुन निर्वाचनमा बद्री केसी निर्वाचित भएपछि श्रेष्ठ र शर्माले धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्दै आएका छन् । विवादकै बिच केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट समूहले पनि शर्मालाई अध्यक्ष बनाएर गतिविधि गर्दै आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप