बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

वीर अस्पतालका सेवाग्राहीको गुनासो– सोधपुछ कक्षकै कर्मचारी झर्किन्छन्

शनिबार, ३० मङ्सिर २०८०, ०६ : १०
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । उपचारका लागि वीर अस्पतालमा आउने बिरामीसँग सोधपुछ कक्षकै कर्मचारी झर्किने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । अस्पतालमा आफूले नबुझेको विषयमा सोधपुछ गर्दा सोधपुछ कक्षमा बस्ने कर्मचारी नबोल्ने, झर्किने लगायत लापरबाही प्रतिक्रिया दिने गरेको वीर अस्पतालमा भेटिएका बागलुङका शिखर थापाले बताए ।

‘आफूलाई जानकारी नभएको विषयमा बुझ्न सोधपुछ कक्षमा जाँदा कर्मचारी भेटिँदैनन्,’ उनले भने, ‘कर्मचारी भेटिए पनि बोल्न मान्दैनन्, बोले पनि झर्किन्छन् ।’

थापाले अस्पतालमा आउने सेवाग्राहीले अस्पतालको सेवासम्बन्धी सम्पूर्ण सिस्टम बुझेकै हुनुपर्नेजस्तो व्यवहार कर्मचारीले गरेको सुनाए । ‘अस्पतालमा पाइने सम्पूर्ण सेवासम्बन्धी सिस्टम सेवाग्राहीले सबै थाहा भएकै हुनुपर्ने उहाँहरूको बुझाइ छ,’ उनले गुनासो गर्दै भने, ‘पढ्न लेख्न सक्नेलाई भवन र कोठा नम्बर भनिदिए जान सक्छौँ तर नपढेकालाई उपचार गराउन समस्या छ ।’

bir (1)

खोटाङका हरिप्रसाद वन आमाको पेट दुख्ने समस्या भएर वीर अस्पतालमा उपचार गराइरहेका छन् । उनले अस्पतालबाट उपचार गराउनका लागि टिकट काट्नदेखि डाक्टरलाई भेट्न, ल्याब जाँच गराउन, रिपोर्ट लिन निकै अलमलिएको सुनाए । ‘अस्पतालमा टिकट बल्लतल्ल काटेँ,’ उनले भने, ‘टिकट लिइसकेपछि कता जाने भन्ने थाहा हुन्न ।’

अस्पताल ठुलो भएकाले आफूले लिने सेवा कहाँ लिने, कसरी लिने भन्ने विषयमा सही जानकारी पाउन नसकेको उनले गुनासो गरे । ‘कहाँ जाने भनेर सोधपुछ कक्षामा सोध्दा पनि यहाँका कर्मचारीले चासो दिँदैनन्,’ उनले भने, ‘डाक्टरलाई कहाँ भेट्ने, जाँच कहाँ गराउने, रिपोर्ट कसरी लिने भन्नेमा अलमल परिन्छ, तलमाथि गर्दै दिन जान्छ ।’

वीर अस्पतालमै भेटिएका सेवाग्राही हुन् रौतहटका सुनिल कुमार चौरसिया । उनी एक साता यता भाइको उपचारका लागि अस्पतालमा भौतारिँदै आएका छन् । उनले स्वास्थ्य बीमाबाट औषधि उपचार गराइरहेका छन् । उनी पनि अरू सेवाग्राहीजस्तै सोधपुछ गर्दा कर्मचारीले राम्रो प्रतिक्रिया नदिएको सुनाउँछन् । ‘स्वास्थ्य बीमाबाट भाइको उपचार गराउँदै छु,’ उनले भने, ‘बीमाबाट उपचार गराउँदा कहिले छाप लगाउन भन्छ, कहिले रेफर कार्ड माग्छ ।’

bir (2)

स्वास्थ्य बीमाबाट औषधि उपचार गराउँदा स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि रेफर कार्ड बनाउनुपर्ने हुन्छ । सो रेफर कार्डको म्याद एक साताको मात्रै हुन्छ । काठमाडौँ उपत्यका बाहिरबाट उपचार गराउन आउने बिरामीका लागि सो म्यादले नपुग्ने चौरासियाले गुनासो गरे ।

‘स्वास्थ्य बीमाबाट उपचार गराउँदा धेरै समस्या छ, समयमा उपचार हुँदैन, दुई दिनपछि आउनुस्, डाक्टर छैन भन्छन्, धेरै बहाना बनाउँछन्,’ उनले भने, ‘यो काउन्टर, त्यो काउन्टर जानुस् भन्छ, धेरै समय लिन्छन् ।’

चौरसियाले वीर अस्पतालमै पैसा तिरेर उपचार गराउँदा छिटो हुने तर बीमाबाट उपचार गराउँदा ढिलो हुने बताए । ‘पैसा तिरेर चाँडो भइहाल्छ, पैसा जसले तिरिरहेको छ, उसले राम्रो सेवा सुविधा पाइरहेको छ,’ उनले भने, ‘जो बीमा कार्ड लिएर उपचारका लागि आइरहेको छ, त्यसको लागि डौडधुप हुन्छ ।’

bir (3)

सोधपुछ कक्ष सुधार गर्न सुझाव

वीर अस्पतालबाट औषधि उपचार सुविधा लिइरहेकाहरूले सोधपुछ कक्ष सुधार गर्नुपर्ने सुझाएका छन् । अस्पतालमा आउने सेवाग्राहीलाई सोधपुछ कक्षबाट सही जानकारी दिएमा उपचार गराउन सहज हुने उनीहरूले बताए ।

‘सोधपुछ कक्षका बस्ने कर्मचारीले सही तरिकाले जानकारी दिएमा हामीलाई उपचार गर्न सजिलो हुन्थ्यो,’ बागलुङका थापाले भने ।

वीर अस्पतालमा देशका दूरदराजबाट समेत उपचारका लागि बिरामी पुग्ने गर्दछन् । दैनिक अस्पतालमा बिरामीको घुइँचो थेगिनसक्नु हुन्छ । सोधपुछका लागि अस्पतालको अझै केही कक्ष थपे बाहिरबाट उपचारका लागि आउनेलाई सहज हुने खोटाङका वनले सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप