सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

अध्यागमन अधिकृतको ‘घुस’ लिने अखडा बाल्टिक होटल, थप दुईजना पक्राउ

गिरोहका सदस्यले भने–‘अधिकृत खड्कालाई १ करोड बुझायौँ’
आइतबार, ०१ पुस २०८०, १४ : ०७
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् ।

बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सो ट्राभल्समा काम गर्दै आएका पदम मनोजको सालो हुन् ।

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकले प्रहरीलाई बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयान दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । निमा छिरिङ ट्राभल्सको सम्पर्कमा आएका ३ सय जनालाई खड्काले ‘सेटिङ’मा विदेश जान अनुमति दिएका हुन् । भिजिट भिसामा विदेश पठाएबापत आउने कमिशन खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी सञ्चालित होटल बाल्टिक इनमा गएर लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मङ्सिर २६ मा होटलबाट पदम लामासँग दुई लाख बुझेर निस्केपछि उनी पक्राउ परेका हुन् ।

 भिजिट भिसा प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले वायुसेवा निगमका ३ जना अधिकृत  र ७ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेको सङ्ख्या ३४ जना पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘अब, संगठित मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप