शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

गोविन्द केसीको सत्याग्रहमा स्थानीयबाटै किन भयो विरोध ?

सोमबार दिउँसो केसीले अनसनको कार्यक्रम टुङ्ग्याउने
सोमबार, ०२ पुस २०८०, ०६ : ५७
सोमबार, ०२ पुस २०८०

धनगढी । तीन दिने अनसनको क्रममा कैलाली आएका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको छ । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको लागि यहाँका स्थानीयहरू संघर्ष गर्दै आएका छन् । तर मङ्सिर २९ गतेदेखि अनसन सुरु गरेका केसीले विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडानमा बसेपछि उनको विरोध भइरहेको हो ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अनसन बस्न आएका केसीसँग सरकारसँगको मागमा विश्वविद्यालय नभएको भन्दै संघर्ष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर धनगढी फर्किएका थिए । त्यसपछि धनगढीस्थित कृष्ण मन्दिरमा उनले अनसन सुरु गरे ।

विगतमा यहाँ अनसन बस्न आउँदा उनको भव्य स्वागत तथा समर्थन पनि हुन्थ्यो । तर हाल चाहिँ उनको झिनो समर्थन मात्रै छ । त्यो भन्दा व्यापक विरोध भइरहेको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेले गेटा बन्ने विश्वविद्यालयको थुप्रै काम अघि बढेको भन्दै डाक्टर केसीले सो कार्य अघि बढ्न नदिने गरी सत्याग्रहमा आएको आरोप लगाएका छन् ।समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना नै गर्दै गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनशन बस्न नदिएको उनको भनाइ थियो ।

शनिबार नै धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको थियो । 

समितिका संयोजक पाण्डेले भने, ‘अब त मोडालिटीमा पनि विवाद रहेन । स्पष्ट छ, विश्वविद्यालय बनाउने । सरकारले नै बनाउँछु भनेको बेला केही व्यक्तिहरू यहाँ हुन नदिन भ्रम सिर्जना गरिरहेका छन् । जबकि, विश्वविद्यालय सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रिय सभामा समेत टेबल भइसकेको छ । सभामा टेबलपछि प्रतिनिधिसभाको समितिले आवश्यक छलफल थालेको छ । संघीय संसद्का दुई वटै सदनबाट विधेयक पारित गर्ने तयारीमा रहेको अवस्थामा त्यसको विषयान्तर गर्ने कार्य कदापि सह्य हुँदैन ।’  

संघर्ष समितिका सह–संयोजक भट्टले डाक्टर केसी प्रदेशवासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनशन बस्न नदिएको उल्लेख गरे । शनिबार नै धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले डाक्टर केसीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेको थियो । हाल सर्वसाधारणदेखि राजनीतिकर्मी, पेसाकर्मीहरुले केसीको अनसनको विरोध गरिरहेका छन् ।

टीकापुरका सम बहादुर थापा भन्छन्, ‘सुदूरपश्चिमको गेटामा बल्लतल्ल स्थापना हुन लागेको एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अवरोध सिर्जना गर्न डा. गोविन्द केसीलाई कुनै हक छैन ।’

डाक्टर केसीले भने सरकार र आफूबिच भएको सम्झौता कार्यान्वयनको लागि अनसन थालेको बताएका छन् ।

त्यस्तै, एमाले नेता भीम रावल सामाजिक सञ्जाल लेख्छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दछन् भन्ने प्रश्न गरौँ ।’

तर डाक्टर केसीले भने सरकार र आफूबिच भएको सम्झौता कार्यान्वयनको लागि अनसन थालेको बताएका छन् । सरकारसँग सम्झौता हुँदा प्रतिष्ठान नै बनाउनुपर्ने भए अनुसार नै त्यसको कार्यान्वयनको लागि अनसन सुरु गरेको बताएका छन् ।

डाक्टर केसीका सहयोगी एवं डाक्टर अमृत जैशीले भने, ‘उहाँले सरकारसँग भएको सम्झौता कार्यान्वयनको लागि अनसन सुरु गर्नुभएको हो । ०८० फागुनभित्र एमबीबीएसको पढाइ हुनुपर्ने सम्झौता भएको छ । तर अहिलेसम्म कुनै सुरसार नभएकाले दबाब दिन अनसन सुरु गरिएको हो । तर यहाँ विश्वविद्यालयको विरोधमा अनसन सुरु गरियो भनेर विरोध हुँदैछ । हामी बुझ्न सकिरहेका छैनौ । चाहे विश्वविद्यालय बनोस्  या प्रतिष्ठान । तर पढाइ चाहिँ चाडै होस भन्ने हो ।’ डाक्टर जैशीका अनुसार केसीले सोमबार दिउँसो आफ्नो अनसनको कार्यक्रम टुङ्ग्याउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप