शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री जयशंकरले केन्द्रीय पुस्तकालय भवन उद्घाटन गर्ने

मङ्गलबार, ०३ पुस २०८०, १४ : ५९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । भारतीय विदेशमन्त्री एस.जयशंकरले त्रिभुवन विश्व विद्यालयस्थित केन्द्रीय पुस्तकालयको भवन उद्घाटन गर्ने भएका छन् । 

पुस १९ गते नेपाल आउन लागेका मन्त्री जयशंकरले सो भवन उद्घाटन गर्ने भएपछि तयारीलाई तीव्रता दिइएको स्रोतले जनाएको छ । भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ भने उद्घाटन नै गर्नका लागि केही प्राविधिक तथा कागजी काम मिलाउन बाँकी रहेको बताइएको छ । 

भारत सरकारको आर्थिक अनुदानमा निर्माण भएको सो भवनको २०७८ चैत १ गते तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले शिलान्यास गरेका थिए ।

सो परियोजना कार्यान्वयनका लागि शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबिच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार सो पुस्तकालय भवन ३१ करोड ६९ लाख रुपियाँको लागतमा निर्माण भएको हो । भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई)ले पुस्तकालय भवन निर्माणका लागि प्राविधिक सहयोग गरेको छ ।

तीन तले भवनमा आधुनिक सुविधायुक्त विभिन्न प्राज्ञिक शाखाहरू राखिएका छन् । हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो ।

अहिलेको केन्द्रीय पुस्तकालयलाई संग्रहालयको रूपमा प्रयोग गर्ने र नयाँ भवनलाई पुस्तकालयको रूपमा प्रयोग गर्ने बताइएको छ । नयाँ भवन पुस्तकालयको रूपमा आइसकेपछि त्यसलाई चौबिसै घण्टा सञ्चालनमा ल्याउने जनाइएको छ । यो पुस्तकालय अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त हुने बताइएको छ ।

सात हजार ८७५ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण भएको सो तीन भवनमा लिफ्ट समेत जडान गर्नुको साथै ई–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रदर्शनी कक्षको व्यवस्था गरिएको छ ।

‘अटोमेसन सफ्टवेयर’ जडान गरिएको कारण पुस्तकालय प्रयोगकर्ताले खोजेको पुस्तक सहजै भेट्न सकिने व्यवस्था मिलाइएको छ । सो पुस्तकालयमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन डिभाइस (आरएफआईडी)’ पनि जडान हुनेछ । जसमार्फत पाठकले पुस्तक लिने र बुझाउने काम गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप