बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भेरी बबई डाइभर्सन आयोजनालाई गति दिन मन्त्री बस्नेतको निर्देशन

मङ्गलबार, ०३ पुस २०८०, १७ : १७
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई तत्काल कामलाई गति दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि भेरी बबई आयोजनाको कार्य प्रगति प्रभावकारी नभएको पाइएपछि मन्त्री बस्नेतले आयोजनालाई गति दिन निर्देशन दिएका हुन् ।

‘आयोजनाको काममा ढिलाइ हुँदा सरकारले आम नेपाली र मुलुकलाई नै जवाफ दिनुपर्छ । सरकारले हरेक निकायलाई बताउनुपर्छ । काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि छैन ” मन्त्री बस्नेतले भने । सिंहदरबारस्थित आज ऊर्जा मन्त्रालयमा सिँचाइतर्फबाट उच्च अधिकारी, आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई अब ढिलाइ सह्य नहुने भन्दै तत्काल काममा गति दिन निर्देशन दिएका हुन् ।

सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन । आयोजना सम्बद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ ।

आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रुपमा जानकारी लिँदै आएका छन् । नेकपा(एमाले)को मध्य पहाडी राजमार्ग केन्द्रित अभियानका क्रममा सो पार्टी सम्बद्ध शीर्ष नेताले समेत स्थलगत निरीक्षण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै प्रधानमन्त्री कार्यालय मातहतका रहेको एक्सन रुम मार्फत अवस्थाको बारेमा जानकारी लिएका थिए । 

कामले अपेक्षित गति नलिएपछि आज मन्त्री बस्नेतले अब पनि अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिए । आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरे । 

‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस् । समस्या के हो ? समाधानको उपाय के हो ? त्यो प्रस्तुत गर्नुस्,’ उनले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए ।

आयोजना निर्देशक बमले दैनिक रुपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए । उनले आयोजनालाई दैनिक तीन वटा सत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशिल्चन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप