शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

४२ जना मनोनीत हुँदा बद्री केसी पक्षमा किन बढ्यो असन्तुष्टि ?

बुधबार, ०४ पुस २०८०, २१ : १२
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी समूहमा असन्तुष्टि बढ्दै गएको  छ । सल्लाहकार र अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आईसीसी सदस्य) मनोनीत गरिएको विषयलाई लिएर सो समूहमै असन्तुष्टि बढेको हो । 

मुख्यतः सल्लाहकार र आईसीसी सदस्य गरी ४२ जना मनोनीत गरिँदा आफू निकटलाई मात्रै समेटिएको तथा पर्याप्त छलफल नगरिएको भन्दै असन्तुष्टि बढेको बताइएको छ । 

 ११ औँ महाधिवेशनमा केसी र उनको समूहले भेरो भोटिङ दुरुपयोग गरेको दाबीसहित आरके शर्मा पक्षले निरन्तर विरोध गर्दै आएको छ । केसीको नेतृत्व नै शर्मा पक्षले नमानेको पृष्ठभूमिमा मनोनयनको विषयमा केसीकै समूहमा पनि असन्तुष्टि बढेको हो । 

आइतबार बसेको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले सल्लाहकार र आईसीसी सदस्य २१/२१ जना मनोनीत गरेको प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सो मनोनयनप्रति उपमहासचिवद्वय प्रवीन गुरुङ, सोम सापकोटालगायतले  असन्तुष्टि दर्ज गराएका छन् । जसमा गुरुङ र सापकोटाले अध्यक्ष केसीलाई इमेल नै लेखेर मनोनयनबारे तीव्र असन्तुष्टि पोखेको बताइएको छ । यस्तै बैठककै क्रममा केसी निकटकै अरु पदाधिकारीले मनोनयनप्रति असन्तुष्टि पोखेपनि त्यसको सुनुवाइ नभइ निर्णय गरिएको  एक पदाधिकारीले जानकारी दिए।

उसो त बैठकमा अध्यक्ष केसीले गरेको मनोनयनका विषयमा विश्वभरका कतिपय एनआरएनए अभियन्ता र आकांक्षीहरूले समेत प्रश्न उठाइरहेका छन् । मनोनयन गर्दा संघमा योगदान दिएकाहरूलाई भन्दा पनि आफ्नाहरूलाई प्राथमिकता दिइएको उनीहरूको आरोप छ । 

एकपछि अर्को गर्दै मनोनयनबारे प्रश्न र आलोचनाको स्वर नसुनिएपछि उपाध्यक्ष रामशरण सिम्खडाले अध्यक्षले निर्णय गरेपछि आफूले अब कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भने, ‘मनोनयन सकसपूर्ण नै हुन्छ । यसैबारे थुप्रै फोनहरु आएका छन् । केही मित्रहरूसँग कुराकानी हुन सके पनि धेरैसँग कुराकानी हुन सकेको छैन । यस विषयमा थप जटिलता नहोस् भनेर पनि तलाउ शान्त बनाउन पनि हो । निःसन्देह बैठकमा आ–आफ्ना तर्कहरू राख्नु भएकै हो, मैले पनि राखेँ । तर मेरो कर्तव्य भनेको बैठकले गरेको निर्णय उपर कर्तव्यनिष्ठ भई कार्यान्वयन गर्नु गराउनु हो र हामी सबैको पनि ।’

संसारभरीबाट २१ जना सदस्यहरू र २१ सै जना सल्लाहकार चयन गर्नु आफैमा चुनौतीपूर्ण काम भएको उनको भनाइ छ । ‘नेतृत्वले सोच बिचार गरेरै ल्याइएका र सबै कुनै न कुनै रुपमा  सक्षम साथीहरुनै आउनु भएको छ, यसको मतलब यो निष्कर्ष निकाल्नु हुँदैन कि मनोनयनमा नपरेका अन्य साथीहरू क्षमताको आधारमा चयन नहुनु भएको पक्कै होइन ।’ सबै आकाङ्क्षी एक से एक रहेको तर वैधानिक व्यवस्था अनुसार समेट्न नसकिएको उनको भनाइ छ । 

यस्तै अर्का उपाध्यक्ष हेमराज शर्माले पनि संसारभरबाट २१ जना सल्लाहकार र २१ जना सदस्य मनोनीत गर्न त्यति सजिलो विषय नभएको बताएका छन् । ‘२१ जना आइसिसि सदस्य मध्ये ७ जना महिला कोटा कटाउँदा बाँकि १४ जना रहन्छ’, उनको भनाइ छ, ‘१४ जनमा सबै क्षेत्र, पेशा र विविध किसिमले सन्तुलन गर्नु पर्ने वाध्यताका कारणले थुप्रै क्षमतावान साथीहरू छुट्नु भएकोमा दुख लागेको छ । यस बाध्यतालाई बुझेर छुटेका साथीहरूले संघको अन्य भूमिकामा रहनु हुन अनुरोध छ ।’ 

निर्वाचनको बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न र आफ्नो कार्यकाल सफल पार्न सहयोग हुने गरी अध्यक्षको विवेकले सल्लाहकार र सदस्यहरू मनोनयन गर्ने चलन रहेको उनको तर्क छ । 

यो निर्णयबारे अध्यक्षलाई इमेल गरेर असन्तुष्टि पोखेका उपमहासचिव सोम सापकोटालाई सम्पर्क गर्दा उनले केही बताउन चाहेनन् । 

एनआरएनएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले भने केसीको कार्यशैली धाँधलीको अर्को रुप भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो पक्षमा बहुमत एनआरएनए रहेको भन्दै केसीको संस्थामा कुनै हैसियत नभएको बताउँदै आएका छन् । 

केसीले धाँधली गरेको प्रमाण विस्तारै खुल्दै गएको दाबी गर्दै शर्माले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको बताए । शर्माले आधिकारिकतको दाबी गर्दै परराष्ट्रमा निवेदन दिएका छन् भने केसीले धाँधली गरेको आरोप लागेकै कारण संस्थासमेत नवीकरण हुन सकेको छैन । परराष्ट्रमा परेका विवादसम्बन्धी निवेदनहरू अहिलेपनि विचाराधीन अवस्थामा छन् । जसका कारण एनआरएनएको भविष्य के होला भन्ने चासो एनआरएनए वृत्तमा बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप