नेपालका पर्यटनकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

समाचार सारांश
- नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासको संयुक्त आयोजनामा पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ।
- मन्त्री पाण्डेले चिनियाँ भाषा ज्ञानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र नेपाल-चीन सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे।
- राजदूत छेन सोङले नेपाल-चीन कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठमा भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए।
काठमाडौँ । नेपालका पर्यटन पेसाकर्मीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभा हलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायीहरूलाई लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषाको प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘चिनियाँ भाषाको ज्ञानले नेपाल–चीन सम्बन्धमा सेतुको काम गर्नेछ र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु ।’
मन्त्री पाण्डेले भाषिक ज्ञान हुनु भनेको सम्पत्ति थप्नुजस्तै भएको उल्लेख गर्दै भने, ‘जति धेरै भाषिक ज्ञान हासिल गर्न सकियो त्यति नै योग्यता अभिवृद्धि भएको ठान्नुपर्छ । भाषामा दक्ष हुँदा अर्को व्यक्तिसँगको निकटता कायम गर्ने विषयमा सहजता सिर्जना गर्न ठुलो भूमिका निर्वाह गर्छ ।’
पाण्डेले कार्यक्रममा सहभागी चिनियाँहरूलाई नेपालको प्रकृति हेर्नका लागि आह्वान गर्नसमेत आग्रह गरेका छन् ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठका अवसरमा सातौँ भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले भने, ‘नेपाल आएदेखि म तेस्रो पटक भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पुगेको छु । नेपाल आउने चिनियाँहरूले आफ्नो भाषामा संवादको अपेक्षा गर्ने भएकोले नेपाली पर्यटनको गुणस्तरमा भाषा प्रशिक्षण कार्यक्रम सहयोगी बन्ने छ ।’
चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्वको सबैभन्दा ठुलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएकोसमेत राजदूत सोङले बताएका छन् ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मत सिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्त्वपूर्ण पहल भएको बताएका छन् ।
निमित्त सिइओ ऐरले चिनियाँ भाषाको प्रशिक्षणले नेपालका पर्यटन पेसाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठुलो भूमिका खेल्नेछ ।
नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा ब्याचबाट २ सय ४० जना प्रशिक्षित भइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल-चीनबिचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेसाकर्मीहरूलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरूप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
-
पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
-
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
-
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
-
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
-
‘न्गुगी वा थ्योङ्गोले हामीलाई धेरै कुरा सिकाएर गए’