शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक

शनिबार, २४ जेठ २०८२, ०१ : १२
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • १९५० मा अन्नपूर्ण हिमाल आरोहण गर्ने मौरिस हर्जोगको पोखरास्थित सङ्ग्रहालयमा सालिक अनावरण गरियो।
  • अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा, संस्कृति मन्त्री र फ्रान्सेली राजदूतले सालिक अनावरण गरे।
  • हर्जोगले प्रयोग गरेको 'आइसएक्स' पर्वतीय सङ्ग्रहालयलाई हस्तान्तरण गरियो, जुन एक वर्ष प्रदर्शनीमा रहनेछ।

गण्डकी। सन् १९५० जुन ३ मा अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा सालिक स्थापना गरिएको छ । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा हर्जोगसहित आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले अनावरण गरेका हुन् । 

आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन सन् १९५० जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रूपमा बर्सेनि मनाउने गरिन्छ । यस वर्ष अन्नपूर्ण हीरक महोत्सवका अवसरमा आयोजित उक्त दिवसमा सङ्ग्रहालयमा हर्जोगको सालिक स्थापना गरिएको हो । 

कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले विश्वको पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको महत्त्वपूर्ण स्थान रहेको बताए । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिको इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई विश्वव्यापी बनायो”, उनले भने, “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।” 

सन् १९५० जुन ३ अर्थात् २००७ साल जेठ २१ मा फ्रान्सका हर्जोग र लुइस लचेनले विश्वको दसौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमाल चढेका थिए । त्यसको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला परेको थियो ।

अन्नपूर्ण हिमालको आरोहणको दुई वर्षपछि हर्जोगले लेखेको पुस्तक ‘अन्नपूर्ण’ले नेपालको चिनारी विश्वमाझ फैलिएको थियो । हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङवाल’ बनाउने योजना रहेको सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पाले बताए। 

उक्त अवसरमा अन्नपूर्ण हिमाल आरोहणका क्रममा हर्जोगले प्रयोग गरेको ‘आइसएक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियससहित परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्घका अध्यक्ष शेर्पालाई हस्तान्तरण गरेका थिए ।

स्वीजरल्याण्डको ओलम्पिक म्युजियममा रहेको उक्त ‘आइसएक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनी कक्षमा राखिने छ । म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइसएक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजियममा पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप