शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

गर्भावस्थामा मानसिक अवस्थालाई सन्तुलित राख्न के गर्ने?

शनिबार, ०७ पुस २०८०

गर्भावस्था एक महत्त्वपूर्ण र संवेदनशील समय हो । शिशुलाई जन्मदिनु पूर्व एक गर्भवती महिलाले थुप्रै विषयमा ध्यान दिन आवश्यक छ । स्वस्थ बच्चा जन्माउनका लागि गर्भ रहेको मितिबाटै पारिवारिक तथा व्यक्तिगत रूपमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

गर्भ रहेको अवस्थामा महिलाको मानसिक स्वास्थ्यको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । खानपान, व्यायाम, स्वास्थ्य चेकजाँच लगायतका विषय झनै महत्त्वपूर्ण मानिन्छ । अर्कातर्फ जाडोको मौसममा त गर्भवती महिला झनै संवेदनशील हुन जरुरी रहेको चिकित्सकहरू बताउँछन् ।

गर्भावस्थाको समयमा महिलाले के–कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. विनोद अर्यालसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, डा. अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश ः

  • गर्भवती महिलाले बच्चा नजन्माउन्जेलसम्म अपनाउनु पर्ने सावधानीका विषय के के हुन् ?

गर्भवती महिलाका लागि विकसित राष्ट्रहरूमा ‘प्रिकन्सेप्सनल काउन्सेलिङ’ भनेर छुट्टै ‘सेसन’हरू हुन्छ । महिलाको उमेर ३० भन्दा माथि छ भने अथवा पहिलाको बच्चाहरूमा कुनै खोट छ भने यो कुरा एकदमै महत्त्वपूर्ण हुन्छ ।

हाम्रो शरीरमा कुनै त्यस्तो समस्या छ कि छैन, जुन समस्याले बच्चा र आमा दुवैलाई असर गर्न सक्छ भन्ने थाहा पाउनका लागि ‘प्रेग्नेन्सी’को योजना बनाउनु भन्दा २–३ महिना अगाडि नै डाक्टरको परामर्शमा जाँचबुझ गरेर औषधि लिएर प्रेग्नेन्सी प्लान गर्ने हो भने प्रेग्नेन्सीबाट आउने जटिलताहरूबाट बच्न सकिन्छ । त्यस्तै प्रेग्नेन्सीलाई असर गर्ने अरू कुनै रोग शरीरमा छन् कि छैनन् भनेर प्रेग्नेन्सी प्लान गर्नु अघि नै डाक्टरसँग सल्लाह लिने, गर्भवती भइसकेपछि आउन सक्ने जटिलताहरुको लागि नियमित परामर्शमा बसिरहने गर्नुपर्छ । त्यसो गर्दा आमा र बच्चा दुवैलाई हुने खतराहरूबाट बचाउन सकिन्छ भने केही भइसकेको छ भने उपचारबाट पनि निको पार्न सकिन्छ ।

  • सामान्यतया अस्पतालसम्म आउँदा गर्भवती महिलाहरूको मानसिक तथा भावनात्मक अवस्था कस्तो हुन्छ ?

विशेषगरी मानसिक अवस्थाको कुरा गर्दा यदि उमेर अनुसार प्लान गरेको प्रेग्नेन्सी हो भने महिलाहरूको मानसिक अवस्था सामान्य नै देखिन्छ । तर यदि तपाईंको उमेर सानो छ र १८/१९ वर्षमै गर्भवती हुनु भयो, जुन केही योजनाबिना नै भएको छ अथवा ३५/४० वर्षको उमेर छ भने ती महिलाहरू मानसिक रूपमा अलिकति असहज महसुस गर्ने हुन्छन् ।

गर्भवती महिलाको मानसिक अवस्थाले बच्चामा सिधै ठुलो असर त नहोला तर जो मानसिक रूपमा प्रेग्नेन्सीको लागि तयार छ, अथवा डेलिभरीको लागि तयार छ, उहाँहरुमा डेलिभरीको समयमा नर्मल डेलिभरी हुने, डेलिभरीपछि बच्चासँगको सम्बन्ध राम्रो हुन सक्ने सम्भावना देखिन्छ । यसका बारेमा हामीकहाँ धेरै ठुलो खोज त भएको छैन, तर हाम्रा अनुभवका आधारमा मानसिक रूपमा बच्चा जन्माउन तयार भएका महिलाहरू भन्दा तयार नभएका महिलाहरूमा जटिलता बढी देख्न सकिन्छ ।

  • मानसिक अवस्थालाई सन्तुलित राख्न के गर्ने ?

मानसिक रूपमा सन्तुलित राख्न सबैभन्दा पहिला प्रेग्नेन्सी प्लान गर्दा आफ्नो स्थिति अनुसार तयारी गर्नुपर्छ । मेडिकल तयारीसँगै आर्थिक तयारी पनि गर्नुपर्छ भनेर सल्लाह दिने गरेका छौँ ।

  • गर्भावस्थामा के–के गर्न हुन्छ र के के गर्न हुँदैन ?

गर्भवती महिलाहरूले गर्नुपर्ने भनेको बच्चा पेटमा आउनु अगाडि नै केही तयारीहरू हुन्छ । बच्चा पेटमा आउनु अघि डाक्टरको सल्लाह अनुसार केही जाँचबुझहरू गर्नुपर्ने हुन्छ । प्रेग्नेन्ट भइसकेपछि गर्नुपर्ने कुराहरूमा सुरुको अवस्थामा आफैँले जथाभाबी तरिकाले औषधिहरू खानु हुँदैन, सुरुमा बच्चाको अङ्गहरु बन्दै गर्दा औषधिबाट सिधै असर पर्न सक्छ । ती कुराहरुबाट बच्न डाक्टरको नियमित परामर्शमा जाने र खानपानमा पनि साधारण खानेकुराहरू र विशेष गरेर मदिरापान र धूम्रपान कुनै पनि हालतमा गर्नु हुँदैन ।

  • गर्भवती महिलामा रक्तचाप बढ्ने र मधुमेह देखिने समस्या पनि बढ्दो छ, किन ? यसको उपचार के छ ?

जसरी अरू मानिसहरूमा रक्तचाप र मधुमेह बढेको छ, त्यसरी नै गर्भवती महिलामा पहिलाको तुलनामा अहिले रक्तचाप र मधुमेह बढ्ने धेरै देखिन्छ । यसमा मुख्यतः प्रेग्नेन्सीको हर्मोनको कारणले नै हो । जीवनशैलीले पनि यी कुराहरूलाई असर गर्छ । नियमित कसरतको अभाव, सन्तुलित आहारको अभावले गर्दा पनि रक्तचाप र मधुमेह बढ्ने हुन्छ । यस्तो अवस्थामा जीवनशैलीमा विशेष ध्यान पुर्‍याउनु पर्छ ।

  • जाडो महिनामा गर्भवती महिलाले अपनाउनु पर्ने सावधानीका विषय के हुन् ?

गर्भवती महिलाहरूले गर्भ रहेको अवधिभर सावधानी अपनाउनु पर्छ । त्यसमा पनि जाडो मौसममा चिसोबाट बच्न आवश्यक छ । तर, हिटर र गिजरजस्ता सामग्री प्रयोग गर्दा र आफूलाई चिसोबाट बचाउन आगो ताप्दा हुन सक्ने सम्भावित खतराहरूबारे विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया