शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीको टोली र सांसद चौधरीबिच छलफल

आइतबार, ०८ पुस २०८०, १९ : ५१
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो । 

मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । “सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र भन्ने सोच उद्योगी व्यापारीमा पायौँ । यति मात्रै होइन, बैंकहरुले पनि लगानी गर्न चाहिरहेका छैनन्,’ उनले भने, ‘लगानी भित्राउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौँ । बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौँ । त्यसका लागि तपाईँबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौँ ।’

उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केहि कठिनाइ भएपनि प्रदेश सरकारकातर्फ उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अप्ठ्यारो नपार्ने प्रतिबद्धता जनाए । ‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौँ । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर संघसँग संवादमा छौँ, उनले थपे, ‘तपाईँले व्यक्तिगत र अन्य देशभित्र र बाहरिका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस् ।’

कांग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए । उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे । ‘सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रुपमा विकास गर्न सकिन्छ, त्यो कुरा तपाईहरुले बनाउने नीतिमा भर पर्छ, कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,’ उनको सुझाव थियो, ‘त्यहाँको सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो । बाहिरी मुलुकको पनि अध्ययन गर्नुस् र एउटा स्पष्ट नीति बनाउनुस् ।’

उनले जडिबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन मुख्यमन्त्रीसहितको टोलीलाई आग्रह गरे । आफ्नो पनि रोजाईमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको सांसद चौधरीले बताए ।

प्रदेश सरकारका भौतिक योजना मन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप