शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कर्णालीमा राष्ट्रिय सभा निर्वाचन

एक सिटका लागि कांग्रेसबाट ९२ जनाको नाम सिफारिस

गठबन्धनभित्र भागबन्डाको टुङ्गो नलाग्दा अन्योल, एमालेको छैन कुनै सुरसार
बुधबार, ११ पुस २०८०, १७ : ००
बुधबार, ११ पुस २०८०

सुर्खेत । ६ वर्षअघि कर्णालीबाट राष्ट्रिय सभा सदस्य बनेका भैरव सुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईँको पदावधि सकिँदैछ । जाजरकोटका श्रेष्ठ अन्य, कालिकोटका लुवार दलित र सुर्खेतकी चपाईँ महिला कोटाबाट राष्ट्रिय सभा सांसद बनेका थिए । चपाईँ भौतिक पूर्वाधार राज्यमन्त्री समेत छिन् । 

तीन जनाको पदावधि फागुनमा सकिनेछ भने रिक्त हुने पदका लागि माघ ११ मा निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिनका लागि गठबन्धन दलहरूका तर्फबाट अहिलेसम्म कुनै निर्णय नआउँदा प्रदेशहरूमा समस्या भएको नेताहरूले बताएका छन् ।

गठबन्धनकै आधारमा चुनावमा जाने हो भने कर्णालीमा जम्मा तीन वटा सिट छ । यदि त्यही अनुसार भए सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको भागमा १–१ सिट भाग पर्ने हो । यद्यपि कांग्रेस र माओवादीले २/२ सिटमा भाग खोजिरहेका छन् । 

सोमबार र मंगलबार बसेको कांग्रेस प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रलाई गठबन्धनमा जाँदा पनि दुई सिट पाउनुपर्ने कुरासहितको निर्णय केन्द्रमा पठाएको छ । त्यसो गर्दा समाजवादीले भाग पाउने देखिन्न । 

तर, समाजवादी भने एक सिट कुनै पनि हालतमा नछाड्ने दाबी गर्छ । समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले रातोपाटीसँग भने, ‘गठबन्धन भइसकेपछि समान सहभागिता हुनैपर्छ, कसैलाई काखा कसैलाई पाखा बनाउने हो भने गठबन्धनको अर्थ रहँदैन । अहिलेसम्म गठबन्धनको केन्द्रले कुनै निर्णय नगरेकाले उम्मेदवार छनोट गर्ने कामहरू भएको छैन ।’ 

तर, उनको दलबाट राष्ट्रिय सभामा जानेहरूको लर्को छ । वसन्त विश्वकर्मा, बरुनाथ योगी, कृष्णबहादुर विसी, शेरबहादुर केसी, जयनन्दा रावल, सावित्री मल्ल, विजया विष्ट लगायतका नेताहरूले आकाङ्क्षा देखाएका छन् । समाजवादीले फागुनमा रिक्त हुने एक सिट समाजवादीकै रहेकाले त्यसमा आफ्नो उपस्थिति हुनुपर्ने धारणा राखेको छ । 

केन्द्रीय गठबन्धनले नै निर्णय नगरेकाले प्रदेशमा माओवादीले तयारीको विषयमा छलफल गरिरहेको छैन । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले माथिबाट कुनै निर्णय भैनसकेकाले अहिलेसम्म उम्मेदवार छनोटको काम नभएको बताइन् । यद्यपि जिल्ला कमिटीहरूलाई उम्मेदवारका लागि नामहरू पठाउन भनेर निर्देशन समेत गरिएको उनको भनाइ छ । 

गठबन्धन अनुसार निर्वाचनमा भाग लिने हो भने माओवादीको भागमा पनि जम्मा एक सिट नै पर्ने हो । अध्यक्ष केसीले पनि अहिले दाबी जतिसुकै गरे पनि अन्तिममा १/१ सिटमै अघि बढ्नुपर्ने बताइन् । एक सिटका लागि माओवादीभित्र आकाङ्क्षीहरू दर्जन बढी छन् । 

विद्यार्थी नेतृ पञ्चा सिंह, डा. दीपेन्द्र रोकाया, गोमा गौतम कुँवर, विष्णु विक लगायत दर्जन बढी नेताहरूले राष्ट्रिय सभामा आकाङ्क्षा देखाएका छन् । यदि गठबन्धनमा दलित कोटा माओवादीको भागमा परेको खण्डमा कालिकोटका विष्णु विकको सम्भावना बढी रहेको माओवादी नेताहरू बताउँछन् । 

अरू दलहरूले कुनै छलफल नगरे पनि नेपाली कांग्रेसले भने दुई दिनसम्म बृहत् छलफल गरेको छ । सोमबार र मंगलबार बसेको प्रदेश कमिटीको बैठकले जिल्लाबाट आएका सबै नामहरू केन्द्रमा पठाएको छ । ‘हामीले सबै नामहरू केन्द्रमा पठाएका छौँ, पार्टी केन्द्रले नै निर्णय गर्ला,’ कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले रातोपाटीसँग भने, ‘गठबन्धन भएकाले गठबन्धन अनुसार नै अघि जानुपर्छ । त्यही अनुसार हाम्रो भागमा पनि एक सिट पर्ने होला ।’ 

उनका अनुसार एक सिटका लागि कांग्रेसले ९२ जनाको नाम पठाएको छ । जसमा युवा नेता भूपेन्द्रजंग शाही, पुर्वमन्त्री हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठलगायत ९२ जना रहेका छन् । 

यता नेकपा एमालेले भने राष्ट्रिय सभाको लागि कुनै गृहकार्य गरिरहेको देखिन्न । गठबन्धन भए चुनाव गठबन्धनको पक्षमा जाने भएकाले पनि होला एमाले नेताहरूले राष्ट्रिय सभा चुनावलाई खासै महत्त्व पनि दिएको देखिन्न । एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाह भन्छन्, ‘समय अझै छ, अहिलेसम्म केही छलफल पनि भएको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप