सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रंगमञ्च

नेपाली फिल्म सुनसान हुँदा नाटक घर भने भरिभराउ

बिहीबार, १२ पुस २०८०, ०९ : १९
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । नेपाली फिल्म रिलिजका हिसाबले पुस महिना सुनसान जस्तै हुने देखिएको छ । पुसको पहिलो साता अर्थात् गत ६ गते शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज भएन । अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा अबको दुई साता अर्थात् १३ गते, २० गते शुक्रबार पनि कुनै फिल्म छैन । चौथो साता भने दुई फिल्म ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ छन् ।

फिल्म रिलिजका हिसाबले सुनसान जस्तै देखिने पुसमा नाट्य थिएटर भने राम्रो चलायमा हुने देखिएको छ । पुसमा नाटक घरमा भने नाटकहरूले भरिभराउ हुनेछन् । कालिकास्थानस्थित सर्वनाम, थापागाउँस्थित आरोहण गुरुकुल, थापागाउँस्थित मण्डला थियटरलगायतका नाटक घरमा यो पुसमा नियमित एकदेखि तीनवटासम्म नाटक मञ्चन हुने भएको छ ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा केही दिनदेखि नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चनमा छ । यो नाटक पुस १५ गतेसम्म नियमित चल्ने छ । त्यसपछि सर्वनामको अर्को नाटक मञ्चन तयारीमा छ । जसको नाम जुर्न बाँकी भए पनि रिहर्सल भने सुरु भइसकेको सर्वनामका राज शाहले बताए ।

Capture

थापागाउँस्थित मण्डला थिएटरमा यो पुसमा तीन नाटक मञ्चन हुने देखिएको छ । ती नाटक हुन् ‘पागल घोडा’, ‘गुलाफ’ र ‘जुहु स्टोर’ । ‘गुलाफ’ पुस ११ देखि २२ गतेसम्म चल्ने छ भने ‘पागल घोडा’ पुस १२ गतेदेखि माघ ६ गतेसम्म चल्नेछ । त्यस्तै ‘जुहु स्टोर’ पनि पुसभित्रै मञ्चन गर्ने तयारी भए पनि मिति तोकिएको छैन ।

त्यस्तै थापागाउँस्थित आरोहण गुरुकुल पनि यो पुस महिनाभरि नै नाटकले भरिभराउ हुनेछ । गत ४ गतेदेखि ७ गतेसम्म ‘नासो’ मञ्चन भएको गुरुकुल केही पहिले मञ्चन भएको नाटक ‘काल’ मञ्चनको तयारी पनि छ । यो नाटक गुरुकुलमै यसअगाडि मङ्सिर १४ देखि ३० गतेसम्म मञ्चन भएको थियो । गुरुकुलमै नाटक ‘नक्षत्र’ पनि मञ्चन हुँदैछ । ‘नक्षत्र’ पुस २७ गतेदेखि माघ ७ गतेसम्म मञ्चन हुने बताइन्छ । त्यस्तै कौसी थियटर टेकुमा पनि पुसमा केही नाटक मञ्चन गर्ने सोचमा छ ।

मङ्सिर, पुस र माघ पहिलेदेखि नै नाटकका लागि राम्रो महिना मानिँदै आएको सर्वनामका राज शाह बताउँछन् । ‘अहिले नाटक मात्र होइन, दर्शक पनि राम्रा छन्,’ शाहले भने ।

राज शाहको विचारसँग शिल्पी थिएटरका कुमार आले पनि सहमत छन् । उनी पनि नाटकमा दर्शक बढ्दो रहेको बताउँछन् । उनी नाटकमा दर्शक बढेको मात्र होइन, नाटक हेर्न माहौलसमेत बनेको बताउँछन् ।

2

के छन् नाटकका विषय ?

कालिकास्थानस्थित सर्वनाम थिएटरमा केही दिनदेखि  नियमित मञ्चनमा रहेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मा साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन छ । महिला हिंसाका विषयमा केन्द्रित रहेको नाटकका पात्रहरूले हरेक कालखण्डका हिंस्रक प्रवृत्तिलाई प्रश्न गर्छन् । अन्यायको छातीमा टेकेर न्यायले हुङ्कार गर्न जरुरी रहेकाले, नाटकको माध्यमबाट उक्त हुङ्कारको निमित्त आह्वान गर्न खोजिएको छ ।

त्यस्तै थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने तीन नाटकमध्ये ‘पागल घोडा’ भारतीय नाटककार बादल सरकारको कथामा नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकका रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् । नाटकले आत्महत्या समाधान होइन, बाँचे सबथोक गर्न सकिन्छ भन्ने विषयमा बुझाउने छ ।

414346374_1930328670701967_4450355482184854815_n

मण्डलामै मञ्चन हुने अर्को नाटक ‘गुलाफ’ ले सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई आफ्नो विषय बनाएको छ । ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको नाटकमा संवाद छैन । तर दृश्यहरूले कथा बोल्नेछ । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोसिस हुनेछ ।

‘जुहु स्टोर’ भने एल्बट अग्निले लेखेको नाटक हो । दोस्रो विश्व युद्धपछिको मानिस मानिसबिच भएको अविश्वासमा नयाँ साथी खोज्ने क्रममा भेटिएका जनावर र डिप्रेसन विषयमा केन्द्रित छ । नाटकले मानिस र जनावरबिचको लगावसमेत देखाउँछ ।

यस्तै थापागाउँस्थित आरोहण गुरुकुल भर्खर मञ्चन भएको नाटक ‘नासो’ कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित ‘नासो’ थियो । नाटक घरको कलहले बालबालिकामाथि पर्ने असरमा केन्द्रित थियो ।

पुनः मञ्चन हुन लागेको ‘काल’ नाटकले विश्व परिवेशमा देखिएको आर्थिक मन्दी, प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन् उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । शङ्कर खरेलको काल कथाबाट प्रभावित भएर नाटक लेखिएको हो ।

नाटक ‘नक्षत्र’ पनि मञ्चन हुँदैछ । नाटकले श्रीमान् श्रीमतीको सम्बन्धको कथा बोल्छ । श्रीमान श्रीमतीको कथालाई नाटकले विभिन्न कोणबाट प्रस्ट्याउनेछ ।

Natak_Kal_Sagar00047

कलाकार कस्ता कस्ता ?

पछिल्लो समय फिल्ममा नाटकका कलाकारको जगजगी छ । फिल्मबाट नाटक भित्रिने कलाकारको सङ्ख्या पनि कम छैन । यो पुस महिना विभिन्न नाटक घरमा मञ्चन हुने नाटकमा पनि नाटक क्षेत्रमै खारिएका, थिएटरका विद्यार्थीदेखि फिल्मबाट भित्रिएका कलाकारसम्मको अभिनय रहने छन् । कालिकास्थानस्थित सर्वनाम थिएटरमा केही दिनदेखि जारी नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ सर्वनाम थिएटरका १९ औँ ब्याचका प्रशिक्षार्थीहरूले तयार पारेको नाटक हो । 

नाटकमा रसिक राज र शीतल थोकरको निर्देशन रहेको नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, बिलबहादुर विक, वाईएस पौडेल, सरस्वती दाहाल, सुरज अधिकारी, आरुषजङ्ग सारु मगर, सु–गुँ, विध्यक तिलक, एलिसा तामाङ, युनिसा खनाल, जीवन राज भट्ट, विवेक भुसालको अभिनय छ । एलिसा तामाङको कोरियोग्राफी, मनोज भण्डारी, सुरज शीतल र रसिकको गीत रहेको नाटकमा सङ्गीत भने सान्सिक प्रोडक्सनको छ । 

मण्डला थिएटरका तीन नाटकमध्ये ‘पागल घोडा’ घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । नाटकमा अभिनेता प्रमोद अग्रहरी, अभिनेत्री मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारीलगायत कलाकार देखिनेछन् । फिलम अभिनयमा पहिचान बनाइसकेकी मलिका यो नाटकबाटै थिएटरमा देखिन लागेकी हुन् । नाटकमा उनका ४ फरक फरक भूमिका रहेको बताइन्छ । 

414235667_3259904210819917_3544496005149384208_n

‘गुलाफ’ दुई पात्रको मात्र अभिनय रहने नाटक हो । नाटकमा अभिनेत्री दिया मास्के, सरिता साहको अभिनय रहनेछ । देव न्यौपानेको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्चिता पराजुलीको वेशभूषा, हुम बीसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन हुनेछ ।

‘जुहु स्टोर’ का निर्देशक सौजक राणा रहेका छन् । नाटकमा सरोज अर्याल, मनिस व्याञ्जनकार, अदिति श्रेष्ठ, नूर, चन्द्र थापा र राजकुमार तिमिल्सेनालगायतको अभिनय रहनेछ ।

यस्तै थापागाउँस्थित आरोहण गुरुकुलमा मञ्चन भएको  ‘नासो’ मा नुबु शेर्पा, क्रिशा बरुवाल, सौगात कक्षपती, साइना स्याङ्तान, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझीलगायत सेजल काफ्लेको अभिनय थियो । ‘नासो’ प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा हो । 

‘काल’ राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटक हो । सुवास तिमल्सिना सहायक निर्देशक रहेको नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय रहनेछ । 

त्यस्तै गुरुकुलमै मञ्चन हुने ‘नक्षत्र’ पनि दुई पात्रको मात्र अभिनय रहने नाटक हो । नाटक सोइच र सुरज मल्लको अभिनय रहनेछ । यसका निर्देशक आलिचे बिआनिक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप