सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको छ : मुख्यमन्त्री जम्कट्टेल

बिहीबार, १२ पुस २०८०, ११ : १९
बिहीबार, १२ पुस २०८०

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन् । बिहीबार हेटौँडा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनको विषयमा तिनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको बताए ।

विश्वमा सङ्घीयता कार्यान्वयन गरेका मुलुकहरूको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट प्रकारको सङ्घीयताको मोडल अपनाएको उनले बताए । नेपालमा सङ्घीयता कार्यान्वयनमा खासै समस्या नरहेको उनको भनाई छ ।

‘सङ्घीयता कार्यान्वयनमा त्यति समस्या छैन । सङ्घीयता कार्यान्वयनको सुरुवात राम्रो छ’ उनले भने ‘अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था छैन । संविधान कार्यान्वयन विषयमा भएका छलफलहरू सकारात्मक छ । सङ्घीय सरकार पनि सकारात्मक रहेको छ । केही तहगत अधिकार आउन सकेको छैन । छिट्टै नै संस्थागत रूपमा आउँछ । अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन् । प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ ।’

पन्चायतकालमा नागरिकहरूमा विकास र चेतना समेत नरहेको उनले दाबी गरे । राजतन्त्र कायम रहँदा शिक्षा स्वास्थ्य तथा विकासमा जनताहरूलाई चेतना नै नहुने र त्यस्ता विषय माग गर्न समेत नसक्ने अवस्थामा नागरिकहरू रहनु परेको उनले बताए ।

‘राजावादीहरुले विकास र चेतना दिन सकेका थिएन । जनताले अहिलेको जस्तो विकास र चेतना नै थिएन । जनताले माग गर्ने अवस्था पनि थिएन’ उनले भने ।

मुख्यमन्त्री जम्कट्टेलले छलफलका विषयलाई नकारात्मक भन्दा पनि सकारात्मक विषयबाट छलफल सुरु गर्नुपर्ने बताए । छिट्टो प्रतिफल खोज्ने नागरिकको आवाज सम्बोधन गर्ने गरी सङ्घीयता कार्यान्वयनमा अघि बढ्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप