बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दमक–चिसापानी सडकको एक वर्ष म्याद थपिने

शुक्रबार, १३ पुस २०८०, १६ : १५
शुक्रबार, १३ पुस २०८०

इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो । 

कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबिच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ । 

सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक अलपत्र बन्ने अवस्था आएपछि इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् । 

अनुगमन पछि सडक निर्माणमा आइलाग्ने समस्या समाधानमा स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने निर्माण कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताए । सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबिच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका स्थानीयले बताएका छन् । 

सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले पटकपटक ताकेता गरिएको बताउँदै विद्यामान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने जनाए । अब पनि काम गराउन कार्यालय लागिपर्ने उनको भनाइ थियो ।

निर्माण कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताए । गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उनको भनाइ थियो । अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उनको दाबी थियो ।

पहिलो चरणको कोभिड–१९ का कारण काम गर्न समस्या भएको भन्दै राईले त्यसपश्चात् काम थाल्न खोज्दा दोस्रो चरणको कोभिड सुरु भएपछि काम रोकिएको बताए । मजदुरको दिन बाँकी रहेको रकमसमेत भुक्तानी गर्ने र तत्काल काम थाल्ने उनको भनाइ थियो । 

माथिल्लो दुईखण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिए ।   

स्थलगत अनुगमनपछि सडक निर्माणले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले दुवै निर्माण कम्पनीले कामसक्ने प्रतिबद्धता जनाएकासमेत जानकारी दिए ।  

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले थप भएको समयमा काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले स्थानीयको दबावसमेत उत्तिकै आवश्यक रहेको भन्दै अनुगमनमा आफू निरन्तर लाग्ने बताए ।    

जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार पक्ष बढी जिम्मेवार हुनुपर्ने बताए । उनले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राखे । 

कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताए । स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उनको भनाइ थियो । सडक निर्माण गर्न ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षले चासो बढाउनुपर्ने उनले बताए । 

फाल्गुनन्द सडक नामकरण गरिएको सो सडक दमकदेखि चिसापानीसम्मको दूरी ३३ किलोमिटर रहेको छ । कालोपत्रका लागि लागेको ठेक्काको समय चार पटकसम्म थप हुँदा समेत निर्माण हुन सकेको छैन । पहिलो खण्ड मानिएको दमकदेखि साढे छ किलोमिटर महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो । 

दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको छ । सो सडकखण्ड रु ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो ।  सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप