शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

मन्त्रीको गाडी जल्नुअघि नै गोली प्रहार

बालकुमारी घटनामा कहाँ चुक्यो प्रहरी ? मन्त्री ज्वालाले किन बोले झुट ?
आइतबार, १५ पुस २०८०, १६ : ३०
आइतबार, १५ पुस २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रवार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाए । सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ । शाहको शव अहिले पाटन अस्पतालमा छ । शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ्ग राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ । 

दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । 

पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू बिहान ७ बजे नै ग्वार्को स्थित ईपीएस कोरिया शाखामा जम्मा भएका थिए । पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग गरेका थिए । 

ईपीएससम्बन्धी विवादबारे सुरक्षाकर्मीहरू जानकार थिए । प्रदर्शनकारीहरु ईपीएस कोरिया शाखामा जम्मा हुँदा जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी उमेश लम्साल नेतृत्वको टिम त्यहाँ परिचालित भैसकेको थियो । प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशी पनि घटनास्थलमा थिए ।

बिहान ९ बजेतिर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह पनि ग्वार्को पुगे । अदालतको आदेशअनुसार फारम भर्न पाउनेहरूलाई ईपीएस कार्यालयमा प्रवेश अनुमति दिन र अरूलाई हटाउन आदेश गरेर उनी फर्किए । त्यसपछि फारम भर्न नपाउनेहरू र प्रहरीको बिचमा ‘धकेला धकेल’ हुन थाल्यो ।

प्रहरी र प्रदर्शनकारीको बिचमा धकेला धकेल हुन लागेको तथ्य एसएसपी शाह र प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित जानकार थिए । तर, अकस्मात् मध्यान्ह करिब १२ बजेर ३० मिनेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी रोकेर प्रदर्शनकारीले जलाएको समाचार भाइरल बन्यो । आम मानिसले प्रश्न गरेका छन्–‘तनावपूर्ण ठाउँमा मन्त्री ज्वाला किन गए ?’

सुरक्षाको चुनौतीको दृष्टिकोणले प्रदर्शन स्थलमा भीआईपी उपस्थित हुनु चुनौतीपूर्ण मानिन्छ । तर, मन्त्री ज्वाला बालकुमारी स्थित कान्तिपुर गार्डेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा सहभागी भएर ग्वार्कोतर्फ निस्किए । 

कान्तिपुर गार्डेनबाट निस्किएको मन्त्री सवार बा.२ झ ५८६१ नम्बरको ल्याण्डक्रुजर जिप आन्दोलनकारीको भागदौडको बिचमा अघि बढ्न सकेन । त्यसपछि चालकले गाडीलाई कोटेश्वर तर्फ मोडेर ‘रङ वे’मै अघि बढाए । तर, बालकुमारी तर्फको आकाशे पुलमा पुग्न नपाउँदै प्रदर्शनकारीले गाडी रोके ।

यो घटनामा मन्त्री ज्वालाले आफू घटनास्थलमा भएर पनि थिइनँ भनेर झुट्टो बोलेको पनि पुष्टि भएको छ । उनले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको र आफूलाई बैठकस्थलमा छोडेर फर्किंदा गाडीमा आगजनी भएको बताएका थिए । मन्त्री ज्वालाले शुक्रवार मध्यान्ह रातोपाटीसँग भनेका थिए,  ‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला गाडीमा आगो लगाएछन् ।' रातोपाटीले मुलुकको जिम्मेवार मन्त्रीको भनाइमा विश्वास गरेर समाचार बनाएको थियो l तर अहिले  सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ ।   

त्यसपछि पैदल हिँड्दै उनी फेरि कान्तिपुर गार्डेन स्थित पार्टीको बैठक स्थलमा प्रवेश गरे, दिनभर निस्केनन् ।

गाडी जल्नुअघि नै गोली प्रहार

डिएसपी उमेश लम्साल घटनास्थलको अपरेशन कमान्डर हुन् । मन्त्रीको गाडीमा आगजनी गर्नुअघि नै ग्वार्को चोकमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थाहा भएको छ । त्यसबारे प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य नेतृत्वको छानबिन समितिले छानबिन गरिरहेको छ । तर, सुरक्षा अधिकारीहरूले मन्त्रीको गाडी आगजनी गरेपछि गोली चलाउनुपर्ने अवस्था आएको भन्दै घट्नालाई मोड्न खोजेका छन् ।

घटनाबारे जानकार एक जना प्रहरी अधिकृत भन्छन्, ‘मन्त्रीको गाडी जलाउनुअघि नै गोली चलेको देखिन्छ ।’ घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाएको छ । बालकुमारी स्थित आकाशे पुल नजिकै प्रदर्शनकारीले भीआईपीको गाडी आगजनी गरेको सूचना रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुमबाट फिल्ड कमान्डरले थाहा पाएका हुन् ।

मन्त्री ज्वालाका निजी सुरक्षा अधिकृत ‘पीएसओ’ ले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर जानकारी गराए । त्यसपछि प्रहरी कन्ट्रोलले त्यसतर्फ सुरक्षाकर्मीहरूलाई परिचालन हुन भनेको थियो । आगजनीपछि प्रहरी थप आक्रोशित बनेको हो । घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ । त्यस्तै अश्रुग्याँस ११४ राउन्ड प्रहार गरिएको छ ।

कहाँ चुक्यो प्रहरी ?

डीएसपी लम्साल नेतृत्वको टिमलाई प्रमुख जिल्ला अधिकारी र एसएसपी सिद्धिविक्रम शाहले गोली चलाउने आदेश दिएका थिएनन् । तर, लम्सालले घटनास्थलमा एसएलआरबाट गोली चलाउन आदेश दिँदा दुर्घटना भएको देखिएको प्रहरी अधिकारीहरूको भनाई छ ।

प्रजिअको जिम्मेवारीबाट हटेर गृह मन्त्रालयमा सरुवा भएका सह–सचिव रुद्रप्रसाद पण्डित आफूले गोली चलाउन अनुमति नदिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘गोली चलाउने आदेश मैले दिएको छैन तर, सबै कुरा अकस्मात् हुँदा दुर्घटना भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप