शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारी राजमार्गको दुईखण्ड कालोपत्रेका लागि २ अर्ब ६० करोड बजेट सुनिश्चितता

मङ्गलबार, १७ पुस २०८०, १२ : ५८
मङ्गलबार, १७ पुस २०८०

सुर्खेत । निकै चर्चाको शिखरमा रहेको मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम अघि बढ्ने देखिएको छ । बाँकी रहेका खम्बागाडे–विद्यापुर र बल्देदेखि–लगाम बजारसम्मको खण्डको काम करिब अघि बढ्ने देखिएको हो । यी दुई सडक खण्डका लागि दुई अर्ब ६० करोड बराबरको बजेट सुनिश्चितता भएको छ । 

बजेट व्यवस्थापनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हृदयराम थानीले सम्बन्धित मन्त्रालयहरूमा निरन्तर पहल गरिरहेका छन् । ५० कै दशकमा सडक पुगेर गाडी देखेका पश्चिमका जनताले अझै पनि सहज रूपमा यातायात सेवाको उपभोग गर्न पाइरहेका छैनन् । सडक खनिए पनि स्तोरन्नती नहुँदा यहाँका नागरिकहरूले निरन्तर सडक सास्ती खेप्दै आएका छन् । 

सङ्घीयतापछि सडक स्तोरन्नतीको लागि आवाजहरू उठे पनि बजेट व्यवस्थापन भने हुन सकिरहेको थिएन । बजेट सुनिश्चितता भएसँगै सडकको विकास हुनेमा पश्चिमका जनता आशावादी छन् । 

खाल्डाखुल्डी, हिलाम्मे सडकको रूपमा परिचित छ, मदन भण्डारी । अहिले बजेट सुनिश्चितता भएका बाहेक बड्डीचौर–खम्बागाडे खण्डको काम भने अहिले भइरहेको छ । उक्त खण्डमा केन्द्रले बेवास्ता गरेपछि सोही क्षेत्रबाट प्रदेश सभा सांसद, पूर्व अर्थमन्त्री विन्दमान विष्टले प्रदेशबाट नै बजेटको व्यवस्थापन गरेका थिए । उक्त ठाउँमा अहिले काम भइरहेको छ ।

यो खण्डको १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ०७९ असारमै जिम्मा लिएको थियो । ०८१ असार २४ मा सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ ।

यद्यपि यो क्षेत्रमा लक्ष्य अनुसार काम भने भइरहेको छैन । बड्डीचौर–बेनीघाट (९४ किमि) जोड्छ मदन भण्डारी राजमार्गले । सांसद थानीका अनुसार खम्बागाडे–विद्यापुरसम्म १० किलोमिटर र बल्देदेखि–लगाम बजारसम्म १५ किलोमिटर सडक निर्माणका लागि अर्थमन्त्री प्रकाश शरण महतको मन्त्री स्तरीय अनुसार दुई अर्ब ६० करोड बजेट सुनिश्चितता भएको हो । अब यो सडक खण्ड पनि ठेक्का प्रक्रियामा जाने भएको छ ।

विद्यापुर–बल्देसम्मको २२ किलोमिटर खण्डमा पनि अहिले काम भइरहेको छ ।  मोतीदान कन्स्ट्रक्सनले १ अर्ब २७ करोड लागतमा काम गरिरहेको छ । 

पश्चिम क्षेत्रमा बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् । यी पालिकाहरुको मेरुदण्ड मानिन्छ, मदन भण्डारी राजमार्ग । ‘मैले आगामी वर्षसम्म सडक निर्माण पुरा गर्ने लक्ष्यका साथ कामहरू अगाडि  बढाइरहेको छु,’ थानीले भने, ‘अब छिटै ठेक्का प्रक्रिया सम्पन्न भर्ई सडक निर्माण कार्य सुरु हुनेछ । यो सडक निर्माण सम्पन्न भएमा पश्चिम सुर्खेतले विकासमा महत्त्वपूर्ण फड्को मार्नेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप