मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चार्जमा हालेको एमजीको इलेक्ट्रिक गाडीमा मध्यरातमा आगलागी

बुधबार, १८ पुस २०८०, १२ : १९
बुधबार, १८ पुस २०८०

काठमाडौँ । एमजी कम्पनीको विद्युतीय गाडीमा आगलागी भएको घटना बाहिर आएको छ । राजधानीको बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी भएको हो । 

उक्त गाडी गोरखाको नामजुङका सुदीप लामिछानेको भएको खुलेको छ । पुस ८ गते अर्थात् क्रिसमस इभको साँझ पार्किङ गरेर राखिएको उक्त गाडी राति १ बजे एकाएक आगलागी भएको थियो । उक्त आगलागीको घटना सुरुमा गुपचुप राख्ने प्रयास भएपनि ढिलोगरी खुलासा भएको छ । 

रातोपाटीले यस विषयमा बुझ्न लामिछानेलाई सम्पर्क गर्दा गाडीमा आगलागी भएको पुष्टि गरे । चार्जमा राखेको गाडी मध्यरातमा आगलागी भएपनि के कारणले यस्तो भएको हो भन्नेबारे स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘साँझ ६ बजे गाडी चार्जमा हालेको हो । राति १ बजे आगलागी भएको हो । चार्जमा हालेकै क्रममा आगलागी भएको हो । कसरी भयो, भयो’, उनले भने । 

‘चार्जिङको क्रममा गडबडी भनौँ भने साँझ ६ बजे नै हालेको हो । त्यो भन्दा अगाडि वा उतिखेरै पनि हुनुपर्ने हो । ७ घण्टापछि यो भएको छ’, उनले थपे । 

उनले आगलागीको घटनापछि सम्बन्धित कम्पनीसँग कुराकानी भइरहेको बताए । कम्पनीले पनि निर्माता चाइनिज कम्पनीसँग कुरा गरिरहेको बताइएको छ भने इन्सुरेन्स क्लेमका लागि प्रक्रिया अघि बढाइएको छ । 

स्रोतका अनुसार एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको बताइएको छ ।

 तर, कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ । 

लामिछाने आफन्त बिरामी भएका कारण त्यहाँ उनलाई घरमा छाड्न पुगेका थिए । अर्को दिन पनि आफन्तलाई अस्पताल लैजान पर्ने भएकाले घर नजिकै गाडी पार्क गरेर चार्जमा हालेका थिए । लामिछानेले गाडी झन्डै २ वर्ष अघि खरिद गरेका थिए । यसअघि भने गाडीमा त्यस्तो कुनै खराबी नदेखिए पनि अहिले आएर एकाएक आगलागी भएर क्षतिग्रस्त हुन पुगेको बताइएको छ । 

गाडीमा एकाएक आगलागी भएपछि राति नै प्रहरीलाई खबर गरिएको दियो । स्थानीय प्रहरी आइपुगेपछि नियन्त्रणमा आएको आगलागीबारे टिपाइएको विवरणमा चार्जिङकै क्रममा यस्तो घटना भएको विषय उल्लेख छ । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त छ । 

यस विषयमा थप बुझ्न एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका जीएम सचिन अर्यालसहितका अधिकारीहरूलाई सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप