सङ्घीयताको औचित्य छैन भने संसदमा छलफल गरौँ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयन गर्न संविधान निर्माताहरूमा नै इमानदारिता नभएको बताएका छन् । ‘सङ्घीयता त ल्यायौँ । सङ्घीय व्यवस्था भन्यौँ । तर इमानदारिता देख्दिनँ । सङ्घ सरकारमा बस्नेसँग यसको इमानदारिता छैन,’ उनले भने, ‘सङ्घीयता ल्याउनका लागि वर्तमान प्रधानमन्त्री लड्ने पहिलो व्यक्ति हो । तर अहिले आउँदा त्यसप्रति इमानदारिता छैन । उहाँसँग सकारात्मक दृष्टिकोण छ, तर रिजल्ट पाएका छैनौँ ।’ उनले संविधानमा लेखेका कारणले मात्रै सङ्घीयतालाई मानिरहेको जस्तो देखिएको बताए ।
‘कानुन बनाउने जिम्मा सरकारको मात्रै होइन, संसद्को हो । व्यवस्थाको बारेमा प्रश्न हो भने छलफल गर्नुस् । औचित्य होइन भने संसदमा छलफल गर्नुस्,’ प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उनले भने, ‘यस्तो किसिमको पेण्डुलम बनाएर राख्ने हो भने लक्ष्य प्राप्त गर्न सकिँदैन ।’ नीति तथा योजना आयोगले गोरखामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना निर्माणको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना निर्माण जनमुखी र धरातल छोइने खालको बन्न नसकेको बताए ।
‘मुस्किलले ५ वर्षमा २ खर्वको बजेट बनाइन्छ होला । तर पञ्चवर्षीय योजनामा रेल चलाउने लक्ष्य राख्छौँ । १ किलोमिटर रेल चलाउनै १ अर्ब भन्दा बढी खर्च हुन्छ । म अब रेल चलाउँछु भनेर मात्रै रेल चल्छ ?,’ पाण्डेले थपे, ‘सपना देख्नु राम्रो हो । तर मेरै पालामा पूरा नहुने सपना देखेर कुनै काम छैन । हाम्रो क्षमता छैन भने त्यस्ता लक्ष्य राखेर अर्थ रहँदैन ।’ उनले केही उत्पादनहरूलाई जोड दिएर निर्यात गर्न सक्ने अवस्थामा पुग्नुपर्ने बताए । उनले आवश्यकताका आधारमा मात्रै योजना छनोट र विकास मोडल तयार गर्नुपर्ने सुझाव दिए ।
‘विद्यालयका भवनहरू रिसोर्ट र भाइवस्टार होटलजस्तो छ । तर पढ्ने विद्यार्थी कति छन् ? लगानी करोडौं गरेका छौँ, लगानीको प्रतिफल आयो कि आएन ? बाटो करोडौं खर्च गरेर गाउँ गाउँमा लगिएको छ, बस्ती किन रित्तिँदै छ ? घरघरमा बाटो लगेर विकास हुन्छ ?,’ उनले प्रश्न गरे, ‘हाम्रो विकास अति खर्चिलो भएको छ । विगतमा कसरी योजना बन्थ्यो र उपलब्धि के भयो भन्ने प्रस्टै छ । पोखरामा बसेर विज्ञहरू बोलाएर गरिने सेमिनारबाट बनेका योजनाले धरातल छुँदैन । हामी जिल्ला तहबाटै सुझाव लिएर योजना निर्माण गर्छौँ ।’
पाण्डेले बसाइसराइ अहिलेको प्रमुख समस्या देखेका छन् । ‘बसाइसराइ अहिलेको सबैभन्दा ठुलो चुनौती बनेको छ । संसारमै बसाइसराइ रोकिने होइन । जतिसुकै विकसित मुलुकमा पनि बसाइसराइ त हुन्छ । तर हाम्रो समस्या चाहिँ फरक छ,’ उनले अघि भने, ‘आगामी १० वर्षपछि गाउँमा कुनै पनि बस्ती नहुने हो कि भन्ने डरलाग्दो अवस्था छ । गाउँघरमा नै स्वरोजगार सिर्जना गर्न हामी चिन्तित छौँ ।’ प्रदेशलाई आवश्यक पर्ने स्रोत प्रदेशमै खोज्ने उनको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण