बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
भेटवार्ता

तीनतिर फर्केका मधेसी दलका नेता जयशंकरका सामु एकसाथ

बिहीबार, १९ पुस २०८०, २२ : ४६
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । मधेस केन्द्रित दलका नेताहरूले भारतीय विदेश मन्त्री एस.जयशंकरसँग एकसाथ भेटघाट गरेका छन् । नेपाल–भारतको संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान नेपाल आएका मन्त्री जयशंकरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई बत्तिसपुतलीस्थित द्वारिका होटेलमा भेटेका हुन् ।

भेटमा उनीहरूबिच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा मधेसवादी दलका नेताहरूले नेपालको संविधान अधुरो भएको, ऐन कानुन अझै निर्माण नभएको र देशमा राजनीतिक अस्थिरता बढ्दै गएको धारणा राखेका थिए ।

भेटमा मन्त्री जयशंकरले मधेस केन्द्रित दलका नेताहरूलाई एकीकृत हुन सुझाव दिए । अलग अलग रहेमा कुनै अधिकार नपाइने बताउँदै मन्त्री जयशंकरले शक्ति निर्माणका लागि एक हुनु आवश्यक रहेको सुझाव दिए । मन्त्री जयशंकरले राजनीतिभन्दा पनि मधेशको विकासमा जोड दिन सुझाव दिएको स्रोतले जनाएको छ ।

मधेस धेरै पिछडिएको ठाउँ भएको र त्यसलाई सुधार गर्नका लागि सङ्गठित हुनुपर्ने सुझाव उनले दिएका छन् । तीनवटै दलका बिचमा एकता होस् भन्ने सन्देश दिनका लागि पनि उनीहरुले विदेशमन्त्री जयशंकरसँग एकसाथ भेट गरेको बताइएको छ ।

श्रोतका अनुसार मधेसी दलका नेताहरूको चाहना मन्त्री जयशंकरलाई एक्लाएक्लै भेट्ने भए पनि भारतीय दूतावासले तीनवटै नेतालाई एकसाथ भेटका लागि व्यवस्थापन गरेको हो ।

अहिले मधेसी तीन दलका नेता तीनतिर छन् । एक अर्कासँग बोलचाल समेत छैन । तीनवटै दल सत्ता गठबन्धनमा रहेका छन् । मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा तीनवटै दल सहभागी भएपाि उनीहरूका बिचमा कुनै सहकार्य छैन ।

सत्ता सहकार्यमा तीन वटै दल एक ठाउँमा भए पनि अन्य राजनीतिक सहकार्यमा अलग अलग रहेका छन् । बिहीबार तीनवटै नेतालाई एक ठाउँमा बसाएर मन्त्री जयशंकरले एक ठाउँमा आउन सुझाव दिएको पनि स्रोतले दावी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप