सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

निःशुल्क हुँदासमेत रेबिजको खोप लगाउन हेलचक्य्राइँ

रेबिज लागेर मृत्यु हुनेको संख्या बढ्दो
शुक्रबार, २० पुस २०८०, १३ : ४९
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । कुकुर तथा जङ्गली जनावरको टोकाइबाट हुने रोग हो रेबिज । रेबिज रोग लागेका बिरामीमध्ये प्रायःको मृत्यु निश्चित हुने भएकाले यसलाई प्राणघातक रोग भनिन्छ । यो रोगबाट बच्न कुकुर तथा जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनु नै एकमात्र विकल्प हो ।

विगतको दशकको तुलनामा रेबिज रोगबाट मृत्यु हुने संख्या बढेको काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

विगतका वर्षमा चेतनास्तर कम हुनु, भ्याक्सिनको उपलब्धता नहुनुले खोप लगाउन नपाएर रेबिजबाट मानिसको मृत्यु हुन्थ्यो । तर पछिल्लो समय नेपाल सरकारले रेबिजविरुद्धको खोप निःशुल्क गरे पनि यो रोगका कारण हुने मृत्युदर बढ्नु चिन्ताको विषय बनेको छ ।

‘हाम्रो अनुमानमा के हुनु पर्थ्यो भने धेरै पहिले सजिलै खोप पनि नपाउने भएकाले रेबिज लागेर मर्नुपर्ने बाध्यता थियो होला,’ डा. पुनले भने, ‘पछिल्लो पटक रेबिज विरुद्धको भ्याक्सिन सरकारले निःशुल्कै दिएको छ, निजी मेडिकलहरुमा पनि सजिलै यो भ्याक्सिन पाइन्छ । त्यसैले विगतका दशकभन्दा रेबिज लागेर मर्नेको संख्या घट्नु पर्ने हो, यद्यपि त्यस्तो देखिएन ।’

रेबिजविरुद्ध खोप लगाउन हेलचक्य्राइँ

नेपाल सरकारले रेबिजविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ । सामान्य निजी मेडिकलहरुमा पनि सजिलै खोप पाइन्छ । तर व्यक्तिले खोप नलगाउनुमा केही न केही समस्या भइरहेको डा. पुनले उल्लेख गरे । ‘घरपालुवा सानो पप्पीले टोक्दा पनि रेबिज हुन्छ र ! भन्ने मानसिकता छ,’ उनले भने, ‘कुकुरले टोकेर मान्छेको रगत आयो भने खोप लगाउनुपर्छ भन्ने सोच्ने तर सानो घाउ भएमा खोप लगाउन नपर्ने भन्दा रहेछन् ।’

गाउँघरमा दुई वा तीन दिनपछि खोप लगाउन गएमा रेबिजको खोप लगाउने म्याद नाघेको भनेर फर्काइदिने भएकाले पनि यसको मृत्युदर बढेको पुनले बताए । ‘कतिपय बच्चालाई कुकुरले टोक्यो भने गाली खाने डरले आमाबाबुलाई भन्दैनन्,’ उनले भने ।

गाउँघरमा वृद्धावृद्धाले कुकुरले टोकेमा वास्ता नगर्ने, कोही काम विशेषमा व्यस्त भएर समयमा खोप नलगाउने र घाउ निको हुँदै जाँदा खोप लगाउन पर्दैन भन्ने सोच्ने जस्ता कारणले खोप नलगाएको पाइएको डा. पुनले उल्लेख गरे । गाउँघरमा कुकुरले टोक्दा अस्पताल भन्दा धामीझाँक्रीमा जाने जस्ता कारणले पनि रेबिज लागेका व्यक्तिको निधन हुने गरेको उनले उल्लेख गरे ।

घरपालुवा कुकुरले टोकेका केस ६० प्रतिशत

काठमाडौँ उपत्यकामा खोप लगाउन आउनेमध्ये ६० प्रतिशत व्यक्तिलाई घरपालुवा कुकुरले टोकेको पाइएको पुनले उल्लेख गरे । ‘घरको पालुवा कुकुरसँग खेल्दै टोकेको भनेर आउने ६० प्रतिशत हुन्छन्,’ उनले भने, ‘पछिल्लो समय जीवनशैली परिवर्तन भएको छ, कुकुरप्रतिको माया स्नेह भएर घर–घरमा कुकुर पाल्ने चलन छ । यो राम्रो हो, तर कुकुरलाई समय–समयमा खोप लगाइदिने गर्नुपर्छ ।’

पछिल्लो समय परिवर्तित जीवशैलीसँगै सहर बजारमा कुकुर पाल्नेको संख्या बढ्दै गएको छ । घरपालुवा जनावरमा लगाएको खोप शतप्रतिशत सुरक्षित नहुने भएकाले घरमा पालेको कुकुरले टोकेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु पर्ने डा. पुनले सुझाए । ‘घरपालुवा जनावरमा लगाइने रेबिजविरुद्धको खोप शतप्रतिशत सुरक्षित हुँदैन,’ उनले भने, ‘कुकुरले टोकेमा चिकित्सकसँग अनिवार्य सल्लाह लिनु पर्छ ।’

२४ घण्टामा करिब ६ सयले लगाउँछन् रेबिजविरुद्ध खोप

काठमाडौँ उपत्यकामा रेबिजविरुद्ध खोप लगाउनेको संख्या बढेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडीमा २४ घण्टामा औसतमा ५ सयदेखि ६ सय जनाले रेबिज विरुद्धको खोप लगाउने डा. पुनले बताए । उपत्यकामा मानिस र कुकुरको संख्या बढेकाले पनि खोप लगाउनेको संख्या बढेको हुन सक्ने उनले अनुमान गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको संख्या बढेको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्यामा वृद्धि भएको हो । अस्पतालका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ थिए भने आर्थिक वर्ष २०७९÷८० मा यो संख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा नयाँ र पुरानो गरी एक लाख एक हजार एक सय ९६ र आर्थिक वर्ष २०७९÷८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

यस्तै गत साउन यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार साउनमा चार हजार ८८५, भदौमा चार हजार ७२८, असोजमा चार हजार ७३१ र कात्तिकमा पाँच हजार ९९ जना बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

उपत्यकामा रेबिजविरुद्ध खोप लगाउने संख्या बढे पनि उपत्यका बाहिर कुकुर वा जनावरले टोकेमा बेवास्ता गर्ने प्रवृत्ति छ । कुकुर वा जनावरले टोकेमा, नङले चिथोरेमा जतिसक्दो छिटो चिकित्सकको सल्लाह लिएर रेबिजविरुद्ध खोप अनिवार्यरुपमा लगाउनुपर्ने चिकित्सकले सुझाएका छन् ।

खोप कहिले लगाउने ?

कुकुर वा जङ्गली जनावरले टोकेमा जतिसक्दो छिटो खोप लगाउनु पर्ने हुन्छ । तर कुनै कारणबस ढिलो भएमा २ देखि ४ हप्तामा पनि खोप लगाउन सकिने डा. पुनले बताए ।

‘कुकुरले टोकेको २४ वा ७२ घण्टाभित्रमा खोप लगाउनु पर्छ भन्ने छ, जाति सक्दो चाँडो खोप लगाउनु पर्छ,’ उनले भने, ‘कोही व्यक्ति खोप लगाउन टाढाको गाउँबाट आउनुपर्ने भएमा ढिलोमा २ देखि ४ हप्तामा खोप लगाए पनि हुन्छ ।’

लक्षण कहिले देखिन्छ ?

कुकुर वा जङ्गली जनावरले टोकेको १ महिना देखि ७ महिनामा रेबिजको लक्षण देखिने डा. पुनले बताए । ‘औँलामा, घाँटीभन्दा माथिको भागमा वा गहिरो घाउ तथा मल्टिपल घाउ भएमा महिना दिनमा लक्षण देखिन्छ,’ उनले भने, ‘शरीरको अन्य भागमा टोकेमा ६ देखि ७ महिनामा लक्षण देखिन्छ ।’  

डा. पुनका अनुसार रेबिज लागेको सामान्यतः थाहा हुँदैन तर ध्यान दिएमा सामान्य ज्वरो आउने, टोकेको स्थानमा झमझम हुने गर्छ । ‘पछिल्लो समय रेबिजको लक्षणमा परिवर्तन भएको छ,’ पुनले भने, ‘पछाडिको तल्लो भाग धेरै दुख्ने गर्छ । पहिला रेबिजका बिरामी आक्रामक देखिन्थे, अहिले शान्त हुन्छन्् ।’

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार रेबिज रोग लागेको व्यक्ति पानी र हावाबाट डराउँछन् । ‘पानीबाट डराउनेलाई हाइड्रो फोबिया र हावाबाट डराउनेलाई एरो फोबिया भनिन्छ,’ उनले भने ।  

रेबिजको उपचार हुन्छ ?

रेबिज लागिसकेपछि उपचार सम्भव नभएकाले कुकुर वा जङ्गली जनावरले टोकेमा रेबिजविरुद्ध खोप नै लगाउनुपर्ने हुन्छ । रेबिजको उपचार भनेकै खोप लगाउनु रहेको चिकित्सकहरुको भनाइ छ । कुकुरले टोक्ने बित्तिकै रेबिजको खोप लगाएमा रेबिज लाग्दैन तर खोप नलगाउँदा रेबिज लाग्न सक्ने र रेबिज लागेका प्रायः बिरामीको मृत्यु हुने चिकित्सकहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप