शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट : पाकिस्तान पराजय टार्न सङ्घर्षरत

शुक्रबार, २० पुस २०८०, १५ : ३४
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटको तेस्रो दिन शुक्रबार भ्रमणकारी टोली पाकिस्तान सम्भावित पराजय टार्न सँघर्षरत देखिएको छ । तेस्रो दिनको खेल समाप्त हुँदासम्म पाकिस्तानले आफ्नो दोस्रो पालीमा केवल ६८ रन बनाएर सात विकेट गुमाइसकेको छ ।

अस्ट्रेलियाभन्दा पाकिस्तान केवल ८२ रनले अगाडि छ । दोस्रो पालीमा पाकिस्तानका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर सइम अयुबले सर्वाधिक ३३ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी बाबर आजम पनि २३ रन बनाउँदै आउट भए ।

पाकिस्तानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । मोहम्मद रिजवान ६ रन र आमेर जमाल शून्य रनमा अविजित छन् । अस्ट्रेलियाका बलर जोस हेजलउड एक्लैले चार विकेट लिए । उनले पाँच ओभरमा दुई मेडन राख्दै केवल नौ रन खर्चिए । मिचेल स्टार्क, नाथन लियोन र ट्राभिस हेडले पनि एक–एक विकेट लिए ।

त्यसअघि अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा दुई सय ९९ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाम्बुसेनले ६० रन बनाए । मिचेल मार्सले पनि ५४ रन जोडेका थिए ।

ओपनर उसमान ख्वाजाले ४७ र डेभिड वार्नरले ३४ रन बनाएका थिए । स्टिभन स्मिथले पनि ३८ रन टोलीको खातामा थपेका थिए । एलेक्स केरीले पनि ३८ रन जोडेका थिए । पाकिस्तानका बलर आमेर जमाल एक्लैले ६ विकेट लिएका थिए । उनले २१.४ ओभरमा दुई मेडन राख्दै ६९ रन खर्चिएका थिए ।

आघा सलमानले पनि दुई विकेट लिएका थिए । उनले २० ओभरमा तीन मेडन राख्दै ४३ रन खर्चिएका थिए । साजिद खान र मिर हमजाले पनि एक–एक विकेट हात पारेका थिए । अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । त्यसअघि सिड्नी टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय १३ रन बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप