आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रुपमा परिमार्जन गर्छौं : मन्त्री ज्वाला

शनिबार, २१ पुस २०८०, १५ : ०८
शनिबार, २१ पुस २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताएका छन् । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकूल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेश गरिएको पनि जानकारी दिए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिवार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेश गर्ने समेत बताए । विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाई थियो । 

‘विकास, निर्माणको सवालमा सबैभन्दा मुख्य रुपमा सार्वजनिक खरिद ऐन जो धेरै वर्ष अगाडि बन्यो । समय धेरै परिवर्तन भयो । परिस्थिति चेन्ज भयो । अहिले विज्ञान, प्रविधिको युगमा हामी छौं’ उनले भने, ‘तर पुरानै अवस्थाको चाहीँ खरिद ऐन हामीले बोक्नु परिरहेको छ । त्यसैबाट हामी चल्नुपरेको छ । गाइडिङ हुनुपरेको छ । त्यसले पनि समस्या उत्पन्न गरेको छ । अव हामीले छिटो गरौं भनेर अब त्यो क्याविनेटसम्म पुगेको छ । नयाँ खरिद ऐन आउँछ । अहिलेको समसामयिक सन्दर्भहरुलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं ।’

मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सार्वजनिक सडकसम्बन्धि कानून र सवारी तथा यातायात सम्बन्धि कानुनलाई नयाँ रुपमा अगाडि बढाउनुपर्छ भनेर आफू प्रयासरत रहेको समेत बताए । मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रुपमै धेरै विषयहरु सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप