बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य : यादव

शनिबार, २१ पुस २०८०, १७ : ४५
शनिबार, २१ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् । उनले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट लाभ लिनुपर्ने सुझाव दिए । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको यसअघि भएको भारत भ्रमणको क्रममा भएका दुई देशबिचका सम्झौतालाई अहिले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा मूर्त रूप दिने काम भएको बताए । उनले भने,‘सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको भारत भ्रमणको क्रममा जुन सम्झौता भए, ती सम्झौतालाई मूर्त रूप दिन भारतीय विदेशमन्त्री नेपाल आउनुभएको थियो । सम्झौता पहिले दुई सरकारबिच भएको थियो । अहिले नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा बुँदागत हिसाबले ४ बुँदे सहमति भयो । त्यो एकदमै सराहनीय छ । खासगरी १० हजार मेगावाट बिजुली भारतले किन्ने सम्झौता भयो । यो नेपालको आर्थिक क्षेत्रमा माइलस्टोन भयो । फड्को हो । यो काम पहिल्यै हुनुपर्दथ्यो । अरुण तेस्रो त्यतिवेला नै भएको भए र यी सम्झौता पहिले भएको भए आज देशको अवस्था अर्कै हुन्थ्यो । तत्कालीन नेतृत्वले आफ्नो दूरदर्शीता देखाएनन् ।’

यादवले भारतीय विदेशमन्त्री नेपाल आएर यसअघि भएका सम्झौतालाई मूर्त रूप दिएको भन्दै आगामी दिनमा नेपालले भारतबाट लाभ लिन सक्नुपर्ने सुनाए । उनले भने,‘भारतको छिमेकी पहिले भन्ने नीति छ । त्यो पोलिसीबाट नेपालले पनि आफ्नो हितमा फाइदा लिन सक्नुपर्छ । सबै जिम्मेवार दल र नेतृत्व लाग्नुपर्छ । अहिलेको हाम्रो चुरो कुरा भनेको देशमा आर्थिक समृद्धि र युवाहरूलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’

उनले आर्थिक रूपमा समृद्धि हासिल गर्न नसकिए देशभित्र ठुलो चुनौती सामना गर्नुपर्ने अवस्था रहेको पनि सुनाए । उनले भने,‘अब हामीले हाम्रो आन्तरिक उत्पादनलाई बढाउनुपर्छ । छिमेकीसँग विश्वासको आधारमा सम्बन्ध बनाएर मुलुकको राष्ट्रिय हितलाई संवर्द्धन र प्रवर्द्धन गर्दै जानुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप