आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पुजाराको रेकर्ड १७ औँ दोहोरो शतक

आइतबार, २२ पुस २०८०, १३ : ४२
आइतबार, २२ पुस २०८०

नयाँ दिल्ली । रणजी ट्रफीको २०२३–२४ सिजनको पहिलो चरणमा झारखण्डविरुद्ध चेतेश्वर पुजाराले फर्स्ट क्लास क्रिकेटमा १७ औँ दोहोरो शतक हिर्काएका छन् । अघिल्लो दिन १ सय ५७ रनमा खेलिरहेका उनले तेस्रो दिनको पहिलो सेसनमा आफ्नो दोहोरो शतक पुरा गरेका हुन् । 

खानाको समयसम्म उनी २ सय ३६ रनमा नटआउट रहेका छन् । सौराष्ट्रले ४ विकेटको क्षतिमा ५ सय ६६ रन बनाउँदै ४ सय २४ रनको विशाल अग्रता बनाएको छ ।

फर्स्ट क्लास क्रिकेटमा सबैभन्दा बढी दोहोरो शतक बनाउनेमा उनले हबर्ट सटक्लिफ र मार्क रामप्रकाशको रेकर्ड बराबरी गरेका छन् । उनीभन्दा अघि डन ब्राडम्यान (३७), वाली ह्यामण्ड (३६) र प्याटसी हेनडर्न (२२) रहेका छन् । 

रणजी ट्रफीमा उनको यो आठौँ दोहोरो शतक हो । प्रतियोगितामा उनीभन्दा अघि ९ दोहोरो शतक बनाएका पारस डोगरा मात्र रहेका छन् । उनले फर्स्ट क्लास क्रिकेटमा तीनवटा तेहेरो शतक पनि बनाएका छन् ।

दोहोरो शतकले जनवरी २५ बाट हैदराबदमा सुरु हुने इंग्ल्याण्डविरुद्धको टेस्ट शृङ्खलाका लागि उनको दाबेदारी बलियो बनाएको छ । उनले पछिल्लोपटक अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा खेलेका थिए । उक्त खेलमा उनले १४ र २७ रन बनाउँदा भारत २०९ रनले पराजित भएको थियो । त्यसयता भारतले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध दुई टेस्ट शृङ्खला खेलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप