आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा

आइतबार, २१ असार २०८३, २० : ३३
आइतबार, २१ असार २०८३

सारांश

  • जारी २०२६ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू युरोप तथा अमेरिकाका चर्चित क्लबहरूको रोजाइमा पर्न थालेका छन् ।
  • इन्टर मियामीले आगामी सिजनका लागि केप भर्डेका गोलरक्षक भोजिन्हालाई अनुबन्ध गर्ने योजना बनाएको छ ।
  • भोजिन्हाले विश्वकपमा गरेको उत्कृष्ट गोलरक्षणका कारण विश्वभर चर्चा कमाएका छन् ।

काठमाडौँ । जारी २०२६ को फिफा विश्वकपमा केही खेलाडी चम्किँदा त्यसले फुटबलको ट्रान्सफर मार्केट पनि तताउने भएको छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू युरोप तथा अमेरिकाका चर्चित क्लबहरूको रोजाइमा पर्न थालेका छन् । 

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक खेलपछि परम्परागत शक्तिशाली टोलीहरूभन्दा पनि अप्रत्याशित प्रदर्शन गर्ने नयाँ खेलाडीहरू चर्चाको केन्द्र बनेका छन् । उनीहरूले विश्व फुटबलका स्थापित सुपरस्टारहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आफूतर्फ खिचेका छन् ।

यसैबिच अमेरिकन मेजर लिग सकर क्लब इन्टर मियामीले आगामी सिजनका लागि टोली बलियो बनाउने तयारी थालेको छ । डेभिड बेकह्यामको नेतृत्वमा रहेको क्लब व्यवस्थापनले विश्वकपमा नायकका रूपमा उदाएका गोलरक्षकलाई अनुबन्ध गर्ने योजना बनाएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार संस्था टीभीएनका अनुसार इन्टर मियामीको मुख्य लक्ष्य केप भर्डे राष्ट्रिय टोलीका गोलरक्षक जोसिमार जोजे एभोरा डायस (भोजिन्हा) लाई अनुबन्ध गर्नु रहेको स्पेनी पत्रिका मार्काले लेखेको छ । फुटबल जगतमा ‘भोजिन्हा’ नामले परिचित उनले विश्वकपमा ऐतिहासिक तथा बलिया टोलीहरूविरुद्ध गरेको उत्कृष्ट गोलरक्षणका कारण विश्वभर चर्चा कमाएका छन् ।

विशेषगरी शक्तिशाली टोलीहरूविरुद्ध उनले गरेको अद्भूत बचाउले केप भर्डेलाई प्रतिस्पर्धात्मक अवस्थामा राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । उनको प्रदर्शनपछि युरोप र उत्तर अमेरिकाका विभिन्न क्लबहरूले पनि उनलाई नजिकबाट नियालिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

यदि यो सम्झौता सफल भए विश्वकपमा उदाएका अर्को प्रतिभाशाली खेलाडी इन्टर मियामीको टोलीमा आबद्ध हुने सम्भावना बलियो हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप