बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कानुन समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

बुधबार, २५ पुस २०८०, ०८ : ०६
बुधबार, २५ पुस २०८०

काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ । 

गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ । 

त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबिच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो । 

बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप