बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
नागरिकता प्रकरण

वीरगन्जका मेयर सिंहको बैंक ‘केवाईसी’मा छैन रुविनाको नाम, कसको छोरीलाई दिलाए नागरिकता ?

फर्जी विवरणमा नागरिकता दिलाए के हुन्छ कारबाही ?
बुधबार, २५ पुस २०८०, २० : ३४
बुधबार, २५ पुस २०८०

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली पिता बनेर नागरिकता बनाइदिएको विषय यतिबेला चर्चामा छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७५ साल साउनको १३ गते रुविना श्रेष्ठको नाममा नागरिकता जारी गर्दा नागरिकतावाहकको पिता राजेशमान सिंह उल्लेख गरिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत षडकुमार पोखरेलको हस्ताक्षरमा राजेशमान बाबु बनेर रुविनालाई ३४–०१–७५–०४८४७ नम्बरको नागरिकता दिइएको छ, जसमा मेयर सिंहको नागरिकता नम्बर १६०३१८८१७ उल्लेख गरिएको छ  ।

यस्तै नागरिकता जारी भएको एक वर्ष पछाडि प्रथम प्रतिलिपि दिइएको प्रशासनको रेकर्डमा देखिन्छ । अर्थात् ०७६ सालको ८ फागुनमा प्रतिलिपि दिइएको छ । त्यसपछि यही आधारमा रुविना राहदानी बनाएर अध्ययनका लागि अस्ट्रेलिया गएको देखिन्छ, उनको राहदानी नम्बर हो–११०३९६७१ । रुविनाले वीरगन्ज महानगरपलिका वडा नम्बर ३ को कार्यालयबाट जन्मदर्ता बनाइ नागरिकता लिइएको पाइएको छ, जुन वडा मेयरको सिंह वासस्थान भएको वडा हो ।    

मेयर सिंहले किशोरीलाई यसरी आफ्नो छोरी बनाएर नागरिकता दिन लगाएपनि उनकै अन्य कागजातले रुविना छोरी नभएको देखिन्छ । निर्वाचन आयोगदेखि लिएर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बुझाएको विवरणमा सिंहले आफ्नो पारिवारमा तीन जना मात्रै रहेको उल्लेख गरेका छन् । सरकारी कार्यालय तथा वित्तीय संस्थाहमा मेयर सिंहले बुझाएको ग्राहक परिचान विवरण (केवाईसी) मा कहिँ पनि छोरीको नाममा ‘रुविना’ उल्लेख गरेको पाइँदैन । मतदाता नामावलीदेखि लिएर अन्य सबै सरकारी विवरणमा तीन जनाको मात्रै नाम लेखिएको प्रमाण रातोपाटीलाई प्राप्त कागजातमा पनि देखिन्छ ।

वीरगन्जस्थित लक्ष्मी बैंकमा मेयर सिंहको खाता छ । लक्ष्मी बैंक बीरगन्जमा ०००१२०१****४७४ नम्बरको खाता मेयर सिंहको नाममा खोलिएको छ । जुन खातामा श्रीमतीको नाममा अन्नपूर्ण मानन्धर, बुवाको नाम भूपेन्द्रमान सिंह, आमाको रुकमणि क्षेत्री, बाजेको नाममा भक्तमान सिंह श्रेष्ठ र छोराको नाम अनिशमान सिंह श्रेष्ठ लेखिएको छ । तर, यहाँ छोरीको नाममा भने केही लेखिएको छैन ।

लक्ष्मी बैंकमा रहेको सिंहको उक्त विवरण कागजातमा मेयर सिंहको हस्ताक्षरसमेत छ ।  लक्ष्मी बैंकको सो विवरण अनुसार मेयर सिंहले झुटो विवरण राखी अरुको छोरीलाई नागरिकता दिलाएको आरोपलाई बल पुग्ने देखिन्छ ।

3

1245

को हुन रुविना ?

खासमा रुविना श्रेष्ठ काठमाडौँबासी हुन् । मेयर सिंहका एक साथीका अनुसार रुविना खासमा काठमाडौँ बस्ने भट्टराई थरकी एक महिलाकी छोरी हुन् । ती महिलासँग निकट सम्बन्धका आधारमा राजेशमान सिंहले रुबिनालाई आफ्नो नामबाट नागरिकता दिलाएको स्रोतले बतायो । स्रोतका अनुसार ती महिलालाई उनका श्रीमानले छाडिसकेका छन् ।

वडाबाट यसरी भएको थियो फर्जी जन्मदर्ता ?

वीरगन्ज महानगरको वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष बैजु स्वर्णकार मेयर सिंहको खास मान्छे मानिन्छन् । उनै स्वर्णकार वडाध्यक्ष भएको बेलामा नै मेयर सिंहले जन्मेको १२ वर्षपछि जन्मदर्ता बनाउन लगाए । यो जन्मदर्ता बनाउँदा आफ्नो ‘राइट ह्यान्ड’ मानिने स्वर्णकारबाट बनाउन नलगाएर अर्कालाई निमित्त दिई बनाउन लगाइयो । त्यो बेलाका वडा सदस्यहरुमध्ये तुफैल अख्तरबाट सिफारिस गराएको कागजातमा देखिन्छ । तर अहिले कागजातको बारेमा सोध्दा आफूहरुसँग त्यससंग सम्बन्धित कुनै कागजात नरहेको वडा कार्यालयको प्रतिक्रिया छ ।  

सीडीओमा जाहेरी दर्ता

12

4

मेयर सिंहले अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको समाचार बाहिरिएपछि यसको सत्यतथ्य अनुसन्धानको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार मात्रै जाहेरी परेको छ । कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महम्मद सहाबुद्दिनले मंगलबार भुटो विवरण पेस गरी नागरिकता बनाएको भन्दै मेयर सिंह र रुविना श्रेष्ठविरुद्ध जाहेरी दर्ता गराएका छन् ।

उनले मेयर सिंहले अख्तियारको दुरुपयोग गर्दै झुटो विवरणको आधारमा गैर नागरिकलाई नागरिकता दिलाएको भन्दै सत्यतथ्य जाँच गरी कारबाहीको माग गरेका छन् ।

कांग्रेस नेता सिंहले दिएको जाहेरी दर्ता गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको वास्तविक छानविन गरी चाँडो भन्दा चाडो कारबाही गरिने प्रतिबद्धता जनाए । रातोपाटीसंग कुरा गर्दै प्रजिअ भुसालले घटनाको बारेमा सहायक सिडिओ शिव लम्सालसहितको टोलीलाई अनुसन्धान गर्ने जिम्मा दिइएको जनाए । उनका अनुसार द्रुत गतिमा यो विषयमा अनुसन्धान चलिरहेकोले चाँडै नतिजा ल्याइन्छ ।

झुटो विवरण पेस गरेमा के छ कानुनी कारबाही ?

नागरिकता ऐनले झुटो विवरण पेस गरी नागरिकता दिलाएमा प्रष्ट बोलेको छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ भन्ने व्यवस्था छ भने ऐनको दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन भन्ने व्यवस्था छ ।

त्यस्तै ऐनको दफा १४ मा कुनै विदेशी व्यक्तिले झुटो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ भन्ने व्यवस्था छ ।

ऐनको दफा २१ मा झुठ्ठा विवरण पेश गरी नेपाली नेपाली नागरिकताको प्रमाणपत्र लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा देहायबमोजिम सजायको व्यवस्था गरिएको छः

(१) कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । झुठो विवरण दिई नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ ।

(२) कनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(३) कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(४) कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(५) दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(६) नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी(जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानुन बमोजिम विभागीय कारवाही हुनेछ ।

(७) उपदफा (१), (२ं) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ ।

के भन्छन् मेयर सिंह ?

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मंगलबार रातोपाटीसँग कुरा गर्दै ६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजिएको बताएका थिए ।  कानुनी उपचारमा जाने बताएका सिंह बुधबार भने रातोपाटीले मोबाइलमा पटकपटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

रातोपाटीले बुधबार सिंहलाई भट्टराई थरकी महिलासँगको सम्बन्ध र बैंक विवरणमा रुविनको नाम नभएको लगायतका बारेमा सम्पर्क गर्न पटक पटक प्रयास गर्दा सम्पर्कमा नआएका हुन् । तर, मंगलबारको कुराकानीमा उनले रुविना श्रेष्ठलाई आफू बाबु बनेर नागरिकता जारी गराएको भने घुमाउरो पाराले स्विकार गरेका थिए । ‘विगतमा मान्छेको निजी जीवनमा के के हुन्छ हुन्छ, अहिले सार्वजनिक पदमा बसेको बेलामा सार्वजनिक गर्न मिल्छ ?,’ महानगर प्रमुख सिंहको भनाइ थियो । उनले अब कानुनी उपचारमा जाने समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप