बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्ति घोषणाको तयारीमा रहेका नेता महतो के गर्दै छन् दिल्लीमा ?

आइतबार, २९ पुस २०८०, १२ : ५३
आइतबार, २९ पुस २०८०

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्ने तयारीमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतको दिल्ली पुगेका छन् ।

आफ्नो अभियानको तयारीको बारेमा छलफल गर्नका लागि उनी पुस २५ गतेदेखि दिल्लीमा छन् । लोसपामा विद्रोह गरी उनी राष्ट्रिय मुक्ति क्रान्तिको अभियान चलाउने अन्तिम तयारीमा छन् ।

उनी लोसपामा विद्रोह गर्नुअघि पनि दिल्ली पुगेका थिए । अध्यक्ष महन्थ ठाकुरसँग आन्तरिक विवाद सुरु भएपछि एक साता लामो भारत भ्रमण सकाएर आएपछि लोसपामा उनले विद्रोह गरेका हुन् ।

अहिले उनी लोसपा छाडेका छैनन्, तर पाटीको बैठकमा सहभागी पनि भएका छैनन् । उनी छुट्टै अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यो अभियानको नाम उनले राष्ट्रिय मुक्ति क्रान्ति दिएका छन् । त्यसैको बारेमा थप परामर्शका लागि उनी दिल्ली पुगेको उनी निकट एक नेताले बताए ।

यो बिचमा उनी को कोसँग भेटे त्यो अझै खुलेको छैन तर उनी त्यहाँ उच्च स्तरीय भेटघाटमा रहेको स्रोतहरूले दाबी गरेको छ । २०७४ को चुनावपछि भारतसँग नेता महतोको सम्बन्ध बिग्रेको थियो ।

त्यो सम्बन्ध बनाउनका लागि नेता महतोलाई लामो समय लाग्यो । अहिले सम्बन्ध सुधार भएपछि दौडधुप बाक्लिएको छ ।

उनले राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर बहुल राष्ट्रिय राज्य स्थापनाको निमित्त आह्वान पनि गरेका छन् । क्रान्ति सफल बनाउनका लागि एउटा सङ्गठनको आवश्यकता पर्छ र त्यो सङ्गठन निर्माणमा आफू लागेको नेता महतो बताउँदै आएका छन् ।  

उनले सङ्गठनको अभावमा कुनै पनि तयारी परिणाममुखी बन्न नसक्ने भएकाले सङ्गठन निर्माणमा जोड दिएका छन् । उनले भनेका छन्, ‘साङ्गठनिक तयारी अन्य तयारी जतिकै महत्त्वपूर्ण र जोड दिनु पर्ने विषय हुन् । साङ्गठनिक तयारी गर्न कुशल, अनुशासित, तथा प्रतिबद्ध संगठकहरुको आवश्यकता पर्दछ ।’ यसकै तयारीका लागि उनी भारत भ्रमणमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप