सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एलनको उत्कृष्ट शतकसँगै पाकिस्तानविरुद्धको टी–२० शृङ्खलामा न्युजिल्यान्डको ‘क्लिन स्विप’

बुधबार, ०३ माघ २०८०, १० : ५८
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि घरेलु टोली न्युजिल्यान्ड विजयी भएको छ । डुनेडिनमा बुधबार खेलिएको तेस्रो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४५ रनले पराजित ग¥यो ।

न्युजिल्यान्डले तीन खेलको शृंखला पनि ३–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि न्युजिल्यान्डले पाकिस्तानलाई पहिलो खेलमा ४६ रनले र दोस्रो खेलमा २१ रनले पराजित गरेको थियो । तेस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डको जितमा ओपनर ब्याट्सम्यान फिन एलनले शतकीय पाली खेलेका थिए । उनले एक सय ३७ रन बनाए ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका फिन एलनले केवल ६२ बलको सामना गरी १६ छक्का र पाँच चौका पनि प्रहार गरे । टिम सिफर्टले पनि टोलीको खातामा ३१ रन थपे । ग्लेन फिलिप्सले १९ रन बनाए । पाकिस्तानका बलर ह्यारिस रउफले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानका लागि बाबर आजमले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५८ रन बनाएका थिए । यस क्रममा उनले केवल ३७ बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काए ।

ओपनर मोहम्मद रिजवानले २४ र फाखर जामनले १९ रन बटुले । मोहम्मद नवाजले पनि टोलीको खातामा २८ रन थपेका थिए । कप्तान साहिन शाह अफरिदी १६ रनमा अविजित रहे । न्युजिल्यान्डका बलर टिम साउथीले दुई विकेट लिए । फिन एलन प्लेयर अफ दी म्याच घोषित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप