शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
असन्तुष्टि

भारतबाट फर्केपछि आन्दोलनको तयारीमा जुटे महतो

बिहीबार, ०४ माघ २०८०, २३ : ०२
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नामको सो आन्दोलनको तयारीका लागि छलफल गर्न उनी भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ गएर भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गरी नेपाल फर्किएका हुन् ।

महतोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने चाहना गरे पनि मोदीसँग भेट्न नसकेको महतोका निकट नेताहरु बताउँछन् । महतो भारतबाट फर्केपछि निकै उत्साहित देखिन्छन् । आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने तयारीमा उनी जुटेका छन् । लोसपाबाट विद्रोह गरेपछि माघ ५ गते नै उनी मधेसमा एउटा अभियानको सुरुवात गर्ने तयारीमा जुटेका थिए ।

तर सोही तयारीको क्रममा दौडधुप गर्दा तयारी नपुगेपछि माघ ५ को समयसीमालाई सारिएको स्रोतले दाबी गरेको छ । महतो निकट एक नेताका अनुसार माघ महिनाभित्रै आन्दोलन सुरु हुनेछ । ‘आन्दोलनकै तयारीका लागि भारतलगायत विभिन्न ठाउँमा दौडधुप तथा भेटघाटले गर्दा तयारी पूरा भएको छैन, सम्भवतः माघभित्रै कुनै न कुनै रुपमा अभियानको घोषणा गर्ने तयारी तीव्र रुपमा चलिरहेको छ,’ स्रोतले भन्यो ।

त्यसका लागि लगभग डकुमेन्टहरु तयारी भइसकेको बताइएको छ । महतोले आफ्ना निकट नेताहरुलाई सम्पर्क गरी काठमाडौँ आउन भनिरहेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बनाएको केन्द्रीय समितिप्रति असन्तुष्टि जनाउँदै सो पार्टीमा महतोले विद्रोह गरेका छन् । अब लगभग लोसपामा नबस्ने निश्चित नै गरिसकेका छन् । केन्द्रीय समितिको बैठक बहिष्कार गरी पार्टीमा विद्रोह गरेपछि महतो न पार्टी कार्यालय गएका छन्, न महन्थ ठाकुरको सम्पर्कमा छन् । केन्द्रीय समितिको बैठक मङ्सिर २४ गते बसेको थियो ।

मङ्सिर २४ गतेअघि प्रत्येक दिन पार्टी कार्यालय जाने नेता महतो अहिले पार्टी कार्यालय जान पनि छाडेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लोसपाका अध्यक्ष ठाकुरले संवादलाई अगाडि बढाउन् भन्ने चाहना राखेका महतोले अध्यक्ष ठाकुरका तर्फबाट कुनै रेस्पोन्स नभएपछि आफ्नो अभियान अगाडि बढाएका हुन् ।

अध्यक्ष ठाकुरले केन्द्रीय समिति निर्माण गर्दा त्यसमा महतो पक्षमा थुप्रै नेतालाई समेटेको छैन । त्यसमा नेता महतोले असन्तुष्टि जनाउँदा अध्यक्ष ठाकुरले केन्द्रीय समिति विस्तार चाँडै गर्ने र छुटेकालाई समावेश गर्ने प्रतिवद्धता जनाएका थिए । तर सो प्रतिवद्धता जनाएको पनि धेरै भइसके पनि अझै पूरा भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप