बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो टेस्टमा वेस्ट इन्डिजलाई सजिलै हरायो अस्ट्रेलियाले

शुक्रबार, ०५ माघ २०८०, १० : ०५
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सजिलो जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ ।

वेस्ट इन्डिजले दोस्रो पालीमा दिएको २६ रनको झिनो लक्ष्य अस्ट्रेलियाले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । दोस्रो पालीमा अस्ट्रेलियाका लागि ओपनर स्टिभन स्मिथले अविजित ११ र उसमान ख्वाजाले नौ रनको योगदान गरे । ख्वाजा ‘रिटयर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए । मार्नस लाम्बुसेन एक रनमा अविजित रहे ।

त्यसअघि वेस्ट इन्डिजले दोस्रो पालीमा एक सय २० रनमात्र बनाउन सकेको थियो । वेस्ट इन्डिजका ब्याट्सम्यानहरु दोस्रो पालीमा ३५.२ ओभरमात्र मैदानमा टिक्न सकेका थिए । दोस्रो पालीमा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन् ।

किर्क म्याकेन्जीले टोलीका लागि सर्वाधिक २६ रन बनाएका थिए । दोस्रो पालीमा अस्ट्रेलियाका बलर जोस हेजलउडले पाँच विकेट लिए । मिचेल स्टार्क र नाथन लियोनले पनि दुई–दुई विकेट हात पारे । क्यामरुन ग्रिनले पनि एक विकेट लिएका थिए ।

त्यसअघि अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि ट्राभिस हेडले शतक बनाएका थिए । उनले एक सय १९ रन बनाए । उनले एक सय ३४ बलको सामना गरी तीन छक्का र १२ चौका हिर्काएका थिए ।

उसमान ख्वाजाले पनि टोलीको खातामा ४५ रन थपेका थिए । क्यारेबियन टोलीका बलर सामर जोसेफले पाँच विकेट लिएका थिए । केमर रोच र जस्टिन ग्रेभसले पनि एक–एक विकेट हात पारेका थिए । अल्जारी जोसेफले पनि एक विकेट लिए ।

पहिलो टेस्टमा टस हारी ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पहिलो पालीमा भने एक सय ८८ रन बनाएको थियो । पहिलो पालीमा वेस्ट इन्डिजका लागि किर्क म्याकेन्जीले ५० रनको योगदान गरेका थिए । सामर जोसेफले पनि ३६ रन जोडेका थिए ।

अस्ट्रेलियन टोलीका बलर जोस हेजलउड र प्याट कुमिन्सले चार–चार विकेट लिएका थिए । मिचेल स्टार्क र नाथन लियोनले पनि एक–एक विकेट हात पारेका थिए । पहिलो टेस्टमा अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ दी म्याच घोषित भए । दोस्रो टेस्ट जनवरी २५ तारिखमा ब्रिसबेनमा सुरु हुनेछ । उक्त टेस्ट दिवा–रात्रि रूपमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप