शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारहरुकाे पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गर्नुपर्छ : मन्त्री श्रेष्ठ

शुक्रबार, ०५ माघ २०८०, २० : ५०
शुक्रबार, ०५ माघ २०८०

हेटाैँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सञ्चार गृहले पत्रकारहरुकाे पारिश्रमिक अनिवार्य उपलब्ध गराउनुपर्ने कानुनी  व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियन मकवानपुरले आयोजनामा गरेको 'सञ्चारकर्मीहरूको अधिकार, चुनौती र समाधान' विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सञ्चार गृहमा कार्यरत पत्रकारहरूले पारिश्रमिक नपाएर पेसा नै परिवर्तन गर्नु परिरहेको उल्लेख गर्दै सञ्चार गृहका सञ्चालकहरूले पत्रकारहरूको पारिश्रमिक उपलब्ध गराउनै पर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले यस्तो कानुनी व्यवस्था गर्न आफूले पहल गर्ने बताए । उनले आफू समग्र सञ्चार क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री श्रेष्ठले लोकतन्त्रको पहरेदार मिडिया भएको भन्दै बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यकता अनुसार ऐन संशोधन गर्दै जाने बताए ।  उनले सरकारले सञ्चार क्षेत्रलाई नियन्त्रण नगरी सहजीकरण गर्दै जाने पनि बताए ।

मन्त्री श्रेष्ठले संविधानको मर्म र भावना अनुसार सङ्घीय सरकारले कानुनहरू बनाउन ढिलाइ गरिरहेको बताए । संघीय सरकारले बनिसकेका कतिपय कानुन कार्यान्वयनमा समेत नलगेको उनको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै नचिन्ने अधिकांश पुराना ऐन, कानुनहरू परिमार्जन नगरेको कारण सङ्घीयता कार्यान्वयनमा समस्या आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप