बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

त्यसैले त मेरो बिहे भएन

शनिबार, ०६ माघ २०८०, १० : ५०
शनिबार, ०६ माघ २०८०

पढाइमा पढ्दा पढ्दै जिन्दगी बित्यो
जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो
पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

बिहेको कति कति कुरो नआएको होइन
सुन्दरीहरूले इन्स्टाग्राममा नधाएको होइन
पढाइ-चढाइको घमन्डमा त्यस्तो कुरोले छोएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

हेर्दा हेर्दै अब त उमेर चालिस पो कटेछु
झल्याँस्स भई पारिवारिक सुख मोह खोजेछु
लाउँलाउँ खाउँखाउँ भन्ने यौवन-जोश अब रहेन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

अब त बुढी कन्येको मात्र कुरा आउँछ
उमेर कटेकीले कसरी पो सन्तान पाउँछ
सन्तान विनाको बिहे गर्न यो मनले खाएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

पत्याउलान् कि कोहीले भनी ब्यूटीसैलून गएँ
चाउरिएको तन्काएर जवान जस्तो भएँ
जति छोप्न खोजे पनि तालु छोपिएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

तरुनीहरू तरुनो र पुरुषत्व खोज्छन्
धेरै पढाइ ठुलो पद किन पो रोज्छन्
ढल्कँदो उमेरमा कुनै ठिटीले भाउनै दिएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

पढाइमा पढ्दा पढ्दै जिन्दगी बित्यो
जागिरमा चढ्दा चढ्दै जिन्दगी बित्यो
पढुन्जेल चढुन्जेल मन अन्त कतै गएन
त्यसैले त अहिलेसम्म मेरो बिहे भएन

लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप