बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : गठबन्धन तर्फका बागमतीका उम्मेदवार र मतदाताको भेटघाट

शनिबार, ०६ माघ २०८०, १९ : ५१
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरू चुनावी अभियानमा जुटेका छन् । सत्ता गठबन्धन दलहरूले शनिवार काठमाडौँको गोकर्ण रिसोर्टमा एक कार्यक्रम आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशका उम्मेदवारहरू र मतदाताबिच भेटघाट गराएको हो ।

निर्वाचनलाई परिणाममुखी बनाउने उद्देश्यले सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले मतदाता र उम्मेदवारबिच भेट गराएको हो । निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन गठबन्धनका सबै दलहरू सम्मिलित प्रदेशका १३ वटै जिल्लामा निर्वाचन परिचालन समिति खडा गरी अभियानमा जुटिरहेका बखत मतदातालाई प्रभावित हुनबाट रोक्न उम्मेदवार र मतदाताबिच भेटको कार्यक्रम राखिएको हो ।

bhetghat2

उक्त भेटमा गठबन्धनका ४ जना उम्मेदवार र गठबन्धन दलहरूबाट निर्वाचित स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभाका सदस्यहरूको उपस्थिति रहेको थियो । गठबन्धनलाई थप मजबुत र विश्वासिलो बनाउन बागमती प्रदेश स्तरमा बनेको प्रदेश निर्वाचन परिचालन समितिले उक्त कार्यक्रम आयोजना गरेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

bhetghat3

अङ्क गणितीय रूपमा विपक्षीहरूभन्दा दोब्बर मतदाता गठबन्धनमा रहे पनि विभिन्न चुनौतीको समाधानका लागि उम्मेदवार र मतदाताहरूको भेट राखिएको उनले बताए । विगतको निर्वाचनमा गठबन्धन दलको २५० मत फरक परेका कारण उक्त समस्या समाधानका लागि आफ्ना उम्मेदवारलाई पुरा मत प्रदान गर्ने निर्देशनात्मक सन्देश प्रवाहका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए ।

bhetghat4

कार्यक्रममा सहभागी स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष र नगर/गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले सङ्घीयता र संविधान कार्यान्वयनमा राष्ट्रियसभाले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनीहरुले संवैधानिक अधिकार प्रत्यायोजन तथा संविधानले निर्धारण गरेका अधिकार साझा अधिकार सूचीका कानुन निर्माणमा राष्ट्रियसभा मौन देखिएकाले त्यसतर्फ सक्रियता देखाउन माग गरेका थिए । 

राष्ट्रियसभा सदस्य पदको बागमती प्रदेश अन्तर्गतको ४ सिटका लागि सता गठबन्धनको काङ्ग्रेसबाट महिला क्लस्टरमा विष्णुकुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार रहेका छन् । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल ३४७ जना मतदाताले मतदान गर्नेछन् । जसमा प्रदेशसभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २३७ जना रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ रहने छ । 

फागुन २० गतेबाट राष्ट्रियसभाको बागमती प्रदेशबाट ४ जना सांसदको पदावधि सकिँदै छ । बागमतीबाट पदावधि सकिने सांसदहरुमा स्वतन्त्रबाट खिमलाल देवकोटा, एमालेबाट रामचन्द्र राई, दिलकुमारी रावल थापा ‘पार्वती’, र एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप