शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीस्थित सडक निर्माणको म्याद सकिँदा भौतिक प्रगति ३५ प्रतिशतमात्रै

आइतबार, ०७ माघ २०८०, ११ : ३८
आइतबार, ०७ माघ २०८०

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकास्थित एक सडक योजनाको म्याद सकिए पनि काम सम्पन्न हुन सकेको छैन । धनगढी–१५ को वडा कार्यालय उर्मा हुँदै वडा नम्बर १६ को रामपुरसम्म जाने कृषि सडक योजना अलपत्र परेको हो ।

निर्माण कम्पनीले काम अधुरै छोडेपछि १० किलोमिटर लामो उक्त सडक घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने अवस्थामा छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजरागुरु बी एण्ड बी जेभीलाई २०७९ जेठमा डेढ वर्षमा सक्ने गरी १० करोड ५२ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो ।

धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीले भने, ‘सडक योजनाको काम अगाडि बढाउन निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरियो । सम्बन्धित सरोकारवाला निकायसँग गुहार मागियो । तर सुनुवाइ नहुँदा वडावासीले हैरानी खेप्नु परेको छ ।’

सडक योजना र वडाभित्र पर्ने पुल, कल्भर्टको विषयलाई लिएर नगर प्रमुख, सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवासँग हालै छलफल गरेको उनले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ धार्मिक, सांस्कृतिक र पर्यापर्यटनको गन्तव्य हो । तर निर्माण कम्पनीले समयमा काम नगर्दा निर्माणधीन सडकको अवस्था दयनीय बनेको छ भने थारु होम स्टे गाउँ भादामा पुग्ने पर्यटकसमेत सडककै कारण घटेका छन् ।

थारू होम स्टे गाउँ भादाको व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीनारायण चौधरीले सडकको विषयलाई लिएर सरोकारवाला निकायलाई सुनाउँदा सुनाउँदा हैरान भएको बताए । उनले भने, ‘सडक, पुलको विषयमा मैले यहाँको मेयर, सांसद, मन्त्रीदेखि लिएर प्रधानमन्त्रीलाई समेत भनेको छु । तर सुनुवाइ नहुँदा दिक्क लागिसक्यो ।’

यसैबिच सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनियर हरि सुवेदीले सो सडक योजनाको ठेक्काको म्याद यही पुसमा सकिएको बताए । साथै भौतिक प्रगति ३५ प्रतिशतमात्रै भएको बताउँदै उनले म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएको जानकारी दिए । तर म्याद भने अझै नथपिएको र आफूले पनि काम अगाडि बढाउन ताकेता गरिरहेको इन्जिनियर सुवेदीको भनाइ छ ।

निर्माण कम्पनीले उर्मामा दुईवटा कल्भर्ट निर्माण र केही ठाउँमा माटोमात्रै फिलिङ गरी अलपत्र छोडेको स्थानीयले बताएका छन् । वडा नम्बर १६ को प्रसिद्ध धार्मिकस्थल बेहाडा बाबामा दर्शन गर्न भारतीय र आन्तरिक पर्यटक नियमित रूपमा आउने गरेका छन् । बेहडाबाबा नजिकै रहेको महादेवा तालमा स्नान र बोटिङका लागि पर्यटक आउने गरेका थिए ।

सडककै कारण पर्यटक आगमन कम भएकाले महादेवा तालमा सञ्चालन गरिएको मोटरबोट नारायणी मोटरबोट कम्पनीले बन्द गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप