शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

सडक र यात्री

आइतबार, ०७ माघ २०८०, १४ : ०४
आइतबार, ०७ माघ २०८०

लाखौँको गन्तव्य तय गर्ने सडक,
सूर्यास्तपछि एक्लो परेछ,
हजारौँको सहयात्री बनेर,
जुगौँ जुगको बाटो तय गर्ने सडक,
हरदम निस्वार्थ सेवामा तल्लीन छ ।

किनारा दिनु छ बटुवालाई
गन्तव्यमा पुर्‍याउनु छ सबै यात्रीलाई
आश्रय दिनुछ अनाथलाई
आफैँ एक्लिएर सबैको साझा साथी बन्नु छ
जुगौँ जुगलाई ।
सवारीसाधनको पर्याय सडक
सुनसान रातमा लमतन्न परेको छ
यात्रुलाई सकुशल आफ्नो गन्तव्यमा पुर्‍याउन
हरदम प्रार्थना गरिरहेछ ।

आगन्तुकको स्वागतमा तल्लीन छ
विद्यार्थीको भविष्य बनाउन अग्रसर छ
असहायको पहरेदारीमा व्यस्त छ
जीवन आशा बोकेका एम्बुलेन्स कुदिरहेछन्
भविष्य बोकेका स्कुल र कलेजका बस दौडिरहेछन्
सुन्दर भविष्य बोकेको दूरदराजबाट आएको विद्यार्थी 
कुरूप वर्तमानलाई यही सडकको धुलोसँग हतारहतार साट्दै 
चालिरहेछ पाइला ।

यात्रीहरू सडकमा पाइला राख्छन्
यसमा पोखिन्छन्—
अभिलाषाका पोकाहरू
इच्छाशक्तिहरू
पीडित मनका आर्तनादहरू
मानवीय कुण्ठाका नमिठा यादहरू ।

कति शान्तसित समेट्छ सडकले 
मानवका भावहरू ।

जहाँ छ टुक्रिएका सपना जोड्ने शक्ति
भत्किएको विश्वासका पर्खाल पुनः बनाउने शक्ति
आफन्तले दिएको आर्तनादका बिच पनि
पराईले दिएको भरोसाबिच मुस्कुराउने शक्ति । 

अन्योल वर्तमानका बिच पनि 
देख्न सकिने सुन्दर भविष्यको कल्पना
बिनाभेदभाव स्नेह प्रदान गरी 
यात्रामा तल्लीन हुन प्रेरित गर्छ सडक
हजारौँ सपनाको विकल्प देखाई 
उपयुक्त परिधि निर्माणका निम्ति सहयोगी बन्छ सडक ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप