सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभिङ टुगेदरमा बस्ने ‘प्रेमिका’को स्वयम्भूमा हत्या

भारतीय नागरिक पक्राउ
आइतबार, ०७ माघ २०८०, १७ : १२
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । काठमाडौँको स्वयम्भूस्थित शोभा भगवतीमा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । तर, सो हत्याको घटना ३ महिनापछि बाहिरिएको छ । डेरा लिएकाहरूले लामो समय कोठा बन्द गरेपछि घरधनीले कोठा खोल्दा घटना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

माघ ३ मा शोभा भगवतीस्थित सरिता गिरीको घरको भुईँ तलामा ५१ वर्षीया सफिना मियाँको शव भेटिएको थियो । मृतक सफिना तनहुँ जिल्ला भिमाद नगरपालिका ५ कि स्थानीय भएको उनका छोराले सनाखत गरिदिए । 

सफिनालाई भारतीय नागरिक ईकरामुल हक अन्सारीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ४३ वर्षीय अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । 

आरोपी कालिमाटीबाट पक्राउ परेका हुन् । गार्मेन्टमा कालिगढको काम गर्दै आएका ईकरामुल र सफिनाको बिचमा नरदेवीमा चिनजान भएको थियो । प्रेम सम्बन्ध भएपछि उनीहरु दुईजना स्वयम्भुमा बस्न थालेका हुन् ।

कार्तिक महिनाको पहिलो हप्ता मदिरा सेवन गरेर काठको आग्लोले हानेर घाइते बनाएपछि ईकरामुलले सफिनाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँमा विगत ९ वर्षदेखि काम गर्दै आएका ईकरामुल र सोफिनाको बिचमा मनमुटाव भएपछि ३ महिनादेखि बोलचाल बन्द थियो । 

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘आरोपीले शुरुमा घाइते बनाएपछि घाँटीमा सल बेरेर हत्या गरेको देखिन्छ ।’  हत्यापछि आरोपी सुमो चढेर वीरगञ्ज गए । वीरगञ्ज हुँदै भारत पुगेका उनी पुस १० तिर कालिमाटीमा आएर बि.एन फेशन गार्मेन्टमा काम गर्न थालेका थिए । कालिमाटीबाट भारत भाग्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप