बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा २ मतदान केन्द्र, ३७० प्रहरी परिचालन गरिने

मङ्गलबार, ०९ माघ २०८०, ०६ : १२
मङ्गलबार, ०९ माघ २०८०

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको तयारी लगभग पूरा भइसकेको छ । निर्वाचनका लागि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको नयाँ भवनलाई प्रयोग गर्ने तयारी छ ।

उक्त मतदान स्थलमा २ वटा मतदान केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा लागि मतदान स्थलको अनुगमन गरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि समेत निर्णय भइसकेको उनको भनाइ छ ।

मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको र मतपत्र समेत छुट्टै हुने गरी बुथको व्यवस्थापन गरिएको निर्वाचन अधिकृत सञ्जेलले जानकारी दिए । उनका अनुसार एक मतदान केन्द्रमा ४ वटा गरी कुल ८ वटा बुथको व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृत सञ्जेलले मतदान अधिकृत समेत तोकिएको र मतदान स्थल व्यवस्थापनका लागि एउटा बुथमा १० जना गरी कुल २० जना कर्मचारीको व्यवस्था गर्ने गरी निर्णय भएको बताए । जसमा एक जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहयोगी तथा सहायक स्तरका कर्मचारी रहने उनको भनाइ छ ।

मतदानका लागि २ वटै बुथमा महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था गरिने जनाइएको छ । असक्त र अपाङ्गता भएका मतदाताको हकमा लाइन बस्न नपर्ने गरी मतदानको व्यवस्था गरिएको निर्वाचन अधिकृत सञ्जेलले बताए ।

तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतदान केन्द्रमै सर्वदलीय बैठक गरी मत गणना गरिने उनले बताए ।

  • ३७० प्रहरी परिचालन गरिने, सेनालाई तयारी अवस्थामा बस्न निर्देशन

निर्वाचन अधिकृत सञ्जेलका अनुसार निर्वाचनमा लागि विशेष सुरक्षा योजना तर्जुमा गरी कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको र सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा समितिसँगको छलफलबाट निर्वाचन स्थल, मतदान केन्द्र र निर्वाचन कार्यालयको सुरक्षाका लागि ४ वटै सुरक्षा निकायलाई परिचालन गरिने छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइका अनुसार निर्वाचनका लागि गत २२ गतेदेखि नै निर्वाचन विशेष सुरक्षा योजना तयारी गरी कार्यान्वयन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयको सुरक्षाका लागि सोही दिनबाट प्रहरी अधिकृतको कमाण्डमा ५ जना प्रहरी परिचालन गरिएको उनले बताए ।

विशेष गरी मतदानको दिन सुरक्षा समितिले विशेष सुरक्षा योजनालाई सशक्त रूपमा कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी सेढाइको भनाइ छ । मतदानका दिन नेपाल प्रहरीका २५० र सशस्त्र प्रहरी बलका १२० गरी ३७० प्रहरी परिचालन गरिने उनले बताए ।

निर्वाचनका लागि नेपाल प्रहरीले भित्री घेरामा सुरक्षा तथा सहायता प्रदान गर्नेछ भने बाहिरी तथा बजार क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । राष्ट्रिय अनुसन्धानका जनशक्तिहरूलाई सूचना सङ्कलन तथा परिचालनमा संलग्न हुने गरी व्यवस्था गरिएको छ भने नेपाली सेनाको टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी सेढाइले बताए ।

सेनाको टोली बाहिर नल्याउने तर, आवश्यकताको आधारमा मात्र परिचालन गर्ने गरी निर्णय भएको उनको भनाइ छ ।

मतदानको दिन सुरक्षा संवेदनशीलताको आधारमा विशेष क्षेत्रमा आवश्यकता अनुसार प्रहरी राख्ने योजना रहेको र सो दिन भइपरी आउने घटनालाई मध्यनजर गर्दै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टोली र दमकललाई मतदान स्थलमै तयारी अवस्थामा राखिने उनले बताए ।

सुरक्षा संवेदनशीलतालाई अनुमान गर्दै मतदाता बसेको होटल तथा बास स्थानका विषयमा जानकारी लिन संयन्त्र तयारी गरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सेढाइले बताए । उनका अनुसार मतदातासँग आउने व्यक्ति तथा सवारी साधनको व्यवस्थापनका लागि मतदान केन्द्रमा २० जना ट्राफिक प्रहरीको व्यवस्था गरिने छ ।

  • बागमतीका लागि ४३० मतपत्र प्राप्त

माघ ११ हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशका लागि निर्वाचन आयोगबाट कुल ४३० वटा मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत सञ्जेलले बताए । उनका अनुसार निर्वाचनमा लागि बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २९० र प्रदेशसभा सदस्यका लागि १४० वटा मतपत्र प्राप्त भएको छ ।

आयोगले निर्वाचनमा लागि २ वटा फरक मतपत्रको व्यवस्था गरे अनुसार प्रदेशसभा सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ भने पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशका प्रदेशसभाका ११० सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख २३७ गरी कुल ३४७ जना मतदाता छन् । प्रदेशको ११९ स्थानीय तहमध्ये दोलखाको गौरिशंकर गाउँपालिकाका उपप्रमुखको निधन हुँदा मतदाता सङ्ख्या २३७ कायम भएको हो ।

राष्ट्रियसभा सदस्य पदको रिक्त रहेको १९ पदमध्ये बागमती प्रदेश अन्तर्गत अन्य, महिला, अल्पसङ्ख्यक÷अपाङ्गता र दलित गरी ४ सिटमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका २, माओवादी र एकीकृत समाजवादीका एक÷एक जनाले उम्मेदवारी दिएका छन् भने एमालेका ४, राप्रपाका ३ तथा नेमकिपाका ४ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।

एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता÷अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार छन् भने राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसङ्ख्यकबाट भरतमणि भट्ट र नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप