शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच सेटको रोमाञ्चक भिडन्तपछि सेमिफाइनलमा पुगे रुसका डेनिल

बुधबार, १० माघ २०८०, १३ : ४२
बुधबार, १० माघ २०८०

काठमाडौँ । तेस्रो वरीयताका रुसी खेलाडी डेनिल मेदवेदेव अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । २७ वर्षीय डेनिल बुधबार मेलबर्नमा सम्पन्न पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा पोल्यान्डका हुबर्ट हर्काजलाई हराउँदै वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा डेनिलले हुबर्टलाई हराउन ठूलै संघर्ष गर्नुपर्यो । पहिलो सेटको खेलमा डेनिल ७–६ (७–४) अंकले अगाडि बढेका थिए । दोस्रो सेटको नतिजालाई भने हुबर्टले ६–२ अंकले आफ्नो पक्षमा पारे । रोमाञ्चक खेलको तेस्रो सेटमा डेनिल पुनः ६–३ अंकले अगाडि बढे ।

चौथो सेटको नतिजालाई फेरि हुबर्टले ७–५ अंकले आफ्नो पक्षमा पारेका थिए । त्यसपछि अन्तिम सेटको खेल थप रोमाञ्चक बनेको थियो । तर, अन्तिम सेटको नतिजालाई ६–४ अंकले आफ्नो पक्षमा पार्दै डेनिल सेमिफाइनलमा पुग्न सफल भए ।

डेनिलले ग्रान्डस्लाम प्रतियोगितामा जितेको यो ७५ औँ खेल हो । सन् १९९० पछि जन्मिएर ग्रान्डस्लाम प्रतियोगितामा ७५ खेल जित्ने उनी विश्वकै चौथो खेलाडी बनेका छन् । डेनिलले हालसम्म एकपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेका छन् ।

उनले सन् २०२१ मा यूएस ओपनको उपाधि हात पारेका थिए । अस्ट्रेलियन ओपनमा भने उनी यसअघि दुईपटक फाइनलसम्म पुगेका थिए । उनी सन् २०२१ र सन् २०२२ मा अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका थिए ।

विम्बल्डनमा सेमिफाइनलसम्म पुगेका डेनिल फ्रेन्च ओपनमा भने क्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेका छैनन् । उनी सन् २०२३ मा विम्बल्डनको सेमिफाइनलमा र सन् २०२१ मा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप