सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स स्पिनिङको कट अफ मूल्य ९१२ कायम, सर्वसाधारण लगानीकर्ताले कतिमा भर्न पाउँछन् आईपीओ ?

सोमबार, १५ माघ २०८०, १५ : ५०
सोमबार, १५ माघ २०८०

काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । योग्य संस्थागत लगानीकर्ताहरुले पेस गरेको बोलपत्रको आधारमा सोमबार तय गरिएको मूल्यमा उक्त रेट कायम भएको हो । 

यद्यपि, आधिकारिक रुपमा नै कम्पनीको प्रिमियम कट अफ मूल्य कायम भइनसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । कम्पनीको प्रिमियम मूल्य बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । 

जसमध्ये अधिकांश लगानीकर्ताले बिक्री मूल्य सीमाको अधिकतम विन्दु अर्थात प्रतिकित्ता ९१२ रुपैयाँका दरले बोलकबोल गरेका कारण सोही मूल्य नै ‘कट अफ मूल्य’ कायम हुने देखिएको हो । 

रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो । संस्थागत लगानीकर्ताले पेस गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशतले घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसआधारमा, अब रिलायन्सको आइपीओ सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा जारी हुनेछ । बुक विल्डिङ विधिबाट जारी हुने आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । तसर्थ, सर्वसाधारणले रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिन न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ ।

रिलायन्स स्पिनिङले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप