सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय तह

सगरमाथाको फेदीमा रहेको खुम्बु सरकार के गर्दैछ ?

संघ सरकारबाट गरिने स्रोत वितरण भेदभावपूर्ण भएको गुनासो
बुधबार, १७ माघ २०८०, ०६ : २५
बुधबार, १७ माघ २०८०

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका संसारका मानिस जम्मा हुने ठाउँ हो । खुम्बु क्षेत्रको मुख्य आम्दानी नै पर्यटन व्यवसाय हो । पालिकाको सदरमुकाम चौरीखर्कमा भने अझै पनि सडक पुग्न सकेको छैन । अझै पनि उक्त पालिकाको सदरमुकामबाट सल्लेरी आउन २ दिन लाग्छ ।

गत माघ ८ गतेदेखि उक्त पालिकाको वडा नम्बर १, पैया भन्ने स्थानसम्म सवारी साधन आवतजावत हुन थालेको छ । उक्त सडक सदरमुकामसम्म पु¥याउन अझै केही महिना लाग्ने पालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पा बताउँछन् ।

यही पालिकामा विश्वको सर्वोच्च शिखर सगरमाथा र सगरमाथाको वरिपरि ल्होत्से, नुप्से, छयु, मैदाबलम, पुमोरी, थमसेरकु लगायतका अग्ला हिमाल छन् । यो पालिकाको खुम्बु क्षेत्रलाई विश्व प्रसिद्ध ‘खुम्बु आइसफल’ पनि भनिन्छ । यिनै मनोरम हिमाली दृश्य हेर्न संसारभरका पर्यटक ट्रेकिङका लागि खुम्बु क्षेत्र आउँछन् ।

खरिखोला, लुक्ला, फाकदिङ, मञ्जु, नाम्चे, खुम्जुङ, खुन्दे, तेङ्बोचे, फोर्चे, पाङ्बोचे, फिरिचे, दिङबोचे, थामे, गोक्यो, लबुचे, गोर्खेप आदि यस क्षेत्रका प्रमुख बस्ती हुन् । लुक्ला एयरपोर्ट (तेन्जिङ–हिलारी एयरपोर्ट) विश्वको रोमाञ्चक एयरपोर्टमध्ये एक हो । यसलाई नाम्चे सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । अधिकांश शेर्पा जातिको बसोबास रहेको यो पालिका शेर्पासँग सम्बन्धित भाषा, संस्कृति, बौद्धहरूको पहिचान हो । ‘यहाँको विशेषता भनेकै हिमाल र शेर्पा समुदाय हो,’ अध्यक्ष शेर्पा भन्छन्, ‘कृषि पेसा भनेकै आलु हो ।’

आफ्नै पालिकामा उत्पादन हुने कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने प्रयास आफूहरुको रहेको उनी बताउँछन् ।

टेङ्बोचे गुम्बा, पाङ्बोचे गुम्बा, रिमिजुङ गुम्बा, खैरखोला गुम्बालगायतका महत्त्वपूर्ण गुम्बाहरू यहाँका जनताको आस्थाको धरोहर हुन् । पर्यटकीय गन्तव्यहरू हिमालयमा हाइरोग्लिफ, हिमाल आरोहण र पदयात्रामा छन् । सगरमाथा आधार शिविर, कालापत्थरलगायत अधिकांशको गन्तव्य बनेको छ । ‘पर्यटनको क्षेत्रमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ । तर, बजेट पर्याप्त छैन । संघीय सरकारले धेरै ध्यान पनि दिएको छैन,’ अध्यक्ष शेर्पाको भनाइ छ ।

Minma Sherpa

पूर्वमा संखुवासभा, पश्चिममा रामेछाप, उत्तरमा चीनको दोलखा जिल्ला र तिब्बतसम्म जोडिएको यो पालिकाको क्षेत्रफल देशभरका पालिकामध्ये तेस्रो ठुलो हो भने कोशी प्रदेशको दोस्रो ठुलो हो । यस पालिकाको क्षेत्रफल १५३९.११ वर्ग किलोमिटर छ । पछिल्लो जनगणना अनुसार यहाँको जनसंख्या ८ हजार ९८९ छ । हिमाली क्षेत्रमा पाइने अधिकांश वन, वनस्पति, वन्यजन्तु र हिमाली हावापानीमा पाइने सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा छ ।

पालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाका अनुसार ६२ करोड ८० लाख ८६ हजार रुपैयाँ बराबरको बजेट अहिले कार्यान्वयनमा छ । आफ्नो पालिकामा संघीय सरकारले बाँडफाँट गर्ने वित्तीय स्रोत कम भएको उनी गुनासो गर्छन् । ‘जनसंख्याको आधारमा बजेट विनियोजन गर्ने कुरा वैज्ञानिक भएन,’ शेर्पा भन्छन्, ‘हाम्रो पालिका भूगोलको हिसावले देशभरकै सबैभन्दा ठुलोमध्ये तेस्रो स्थानमा पर्छ । एक वर्षमा लाखौँ पर्यटक यो पालिकामा आउँछन् । उनीहरुको व्यवस्थापन र सहजीकरणका लागि पालिकालाई दिने स्रोत कम भयो ।’

पालिकामा संस्थागत विद्यालय छैनन् । १७ वटा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न आफूहरू लागिरहेको अध्यक्ष शेर्पा बताउँछन् । पालिकामा स्वास्थ्य उपचारको पहुँच पु¥याउन विशेषज्ञ सेवाहरू दिइरहेको उनको भनाइ छ ।

सडक निर्माणमा खर्च धेरै

गाउँपालिका सदरमुकाम पुग्ने बाटो ‘ङिम दोर्जी शेर्पा पर्यटन सडक’ निर्माणका क्रममा धेरै बजेट खर्च भएको देखिन्छ । पर्याप्त बजेटको अभाव, आवश्यक निर्माण सामाग्री ढुवानीमा कठिनाइ र मौसम प्रतिकूलताको कारण निर्माण कार्य ढिलाइ मात्रै भएको छैन, मनग्य बजेट पनि खर्च भएको छ ।

Sadak

थाम डाँडादेखि पैयाँतर्फको ट्र्याक खोल्न २०७९ जेठमा सम्झौता भइ असारदेखि निर्माण सुरु भएको थियो । गाउँपालिका आफैँ र सिल्क पावर कम्पनी र सगरमाथा हाइड्रोपावरको संयुक्त लगानीमा ट्र्याक खोल्ने कार्य सुरु भएको हो । थाम डाँडादेखि चौरीखर्कसम्मको १९.४ किलोमिटर लम्बाई रहेको उक्त सडक विस्तारका लागि ११ करोड बजेट गाउँपालिकाले विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्षमा सोही सडकका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने सडक स्तरोन्नति तथा मर्मत सम्भारका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै गत आर्थिक वर्षमा भने दुई करोड रुपैयाँ ट्रयाक खोल्नकै लागि खर्च भएको थियो । ट्र्याक खोल्नमात्र हालसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ । महँगो ढुवानीको चपेटामा परेका खुखम्बुका नागरिकको समस्या सम्बोधन गर्न राजधानी र सदरमुकामसँग सिधा सडक सञ्जाल जोड्न सकेमा खुम्बु क्षेत्रले न्याय पाउने अध्यक्ष शेर्पाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप