बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मूलका डा. ह्यारी भण्डारीले अमेरिकी संसदमा उम्मेदवारी दिँदै

बुधबार, १७ माघ २०८०, ०७ : ३१
बुधबार, १७ माघ २०८०

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट दुई पटक निर्वाचित नेपाली मूलका सांसद डा ह्यारी भण्डारीले अमेरिकी संसदमा उम्मेदवारी दिने भएका छन् । नेपाल बाहिरको  इतिहासमा सांसद् पदमा पहिलो पटक नेपालीको नाम लेखाउन सफल व्यक्तित्व हुन् डा. भण्डारी।

अमेरिकी नेपाली समुदायकै इतिहासमा पहिलो पटक सुनौलो अक्षरमा नाम लेखाउन सफल भएका मेरिल्याण्ड राज्य विधान सभा सदस्य डा. भण्डारीले एक विज्ञप्ति मार्फत आफ्ना भनाइहरू राखेका छन् । उनी डेमोक्र्याट्सका उम्मेदवार भएकोले आगामी मे महिनामा हुने प्राथमिक निर्वाचनमा विजयी भएमा नोभेम्बरमा हुने निर्वाचनमा अमेरिकी संसद्को लागि भिड्ने छन् ।

डा. भण्डारीको निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल जिल्ला २ लाई विगत २१ वर्षदेखि अनवरत रूपमा प्रतिनिधित्व गर्दै आएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त स्थान रिक्त भएको छ । डा. भण्डारीले त्यही क्षेत्रबाट विधानसभामा सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि नम्बर १ मा रहेको जनप्रतिनिधिका रुपमा आफ्ना लागि यो एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर सरह हो भनेका छन् l

डा. भण्डारीद्वारा जनवरी २९ ,२०२४ जारी गरिएको विज्ञप्तिमा भनिएको छ- 'यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेदवारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमि छ।'

विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै 

सन् २०१८ मा मेरिल्याण्ड राज्यमा नेपाली मूलको पहिलो विधायकका रूपमा विजयी भएर अमेरिकामा नेपाल र नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको एक निमित्त पात्रका रूपले अमेरिकामा कार्यरत नेपाली मिडियाका मित्रहरूले मलाई चिन्नु नै हुन्छ भन्ने विश्वास लिएको छु ।

 

आज पनि म अमेरिकी मूलधारको राजनीतिमा नेपालीका लागि सुरु गरेको त्यो अभियानको पहिलो दिन सम्झन्छु । र, त्यसयता यहाँहरूले निरन्तर रूपमा दिनुभएको अमूल्य सहयोग, साथ, सद्भावले तय गरेको यात्रापछि आइपुगेको यो विन्दुमा उभिएर यहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्दछु ।

 

मेरिल्याण्ड डिस्ट्रिक्ट ८को विधायकका रूपमा मैले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर मेरो निर्वाचन क्षेत्रका मतदाताले मलाई दोस्रो कार्यकालमा पहिलो मतका साथ जिताएनन् मात्र, सिंगो निर्वाचन क्षेत्रलाई नै बैजनीबाट नीलो बनाइ दिएर मेरो कामको अनुमोदन गरी दिए । यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ । मेरिल्याण्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको छ । मेरिल्याण्डका मात्र हैन, अमेरिकाभरिका नेपालीका लागि खासगरी दुस्खको बेला काँध थाप्दै आएको छु । यसबाट पीर र समस्यामा परेका धेरै नेपालीको चराइरहेको घाउमा मल्हम लागेको मैले अनुभव गरेको छु ।  

इतिहासले फेरि एकपटक ममार्फत अमेरिकाभरिका नेपालीका लागि एउटा सुनौलो मौका ल्याइदिएको छ । मेरै निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ लाई विगत २१ वर्षदेखि अनवरत रूपमा प्रतिनिधित्व गर्दै आएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि ओपन सिट भएको छ । डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि नम्बर १ मा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर हो । कम्तीमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु ।

म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्विकार्छु र विनम्रतापूर्वक मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ को लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी घोषणा गर्न चाहन्छु । मलाई थाहा छ, मेरो लागि यो चुनौतीको पहाड हो । तर, अमेरिकामा रहेका तमाम तह र तप्काका नेपालीबाट सहयोग, साथ र सद्भाव पाएँ भने यो चुनौतीको पहाडलाई सम्याएर अवसरको मैदान बनाउन सक्नेछु ।

मसँग यो चुनौतीलाई स्वीकार गर्ने अध्ययन, अनुभव, आँट र पृष्ठभूमि छ । त्यसैले मैले यो चुनौति मेरो लागिभन्दा पनि नेपाल र नेपालीका लागि लिनैपर्छ भन्ने ठानेको हुँ । यो यात्रा मेरिल्याण्डको राजधानी एनापोलिसको लागि हैन, अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटलको हिलको हो । अहिले म मेरिल्याण्डको विधायक हुँ भने यो जीतपछि अमेरिकाका ५० राज्यकै एक कंग्रेसमेन हुने छु । त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसमेन पाउँने छन् ।

यसका लागि उम्मेदवारी दिनु एउटा पक्ष हो भने त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु अर्को तर निर्णायक पक्ष हो । मैले पहिलो पक्षको जिम्मेवारी पूरा गरेको छु र दोस्रो पक्षको जिम्मेवारी लिन अमेरिकाको नेपाली समुदायलाई हार्दिक आग्रह गर्दछु ।

यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेदवारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमि छ।

म सबै नेपालीलाई सहयोग गरिदिनु भई चुनावी क्याम्पेन सञ्चालनका लागि स्रोत जुटाइ दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

समयले हाम्रो लागि हाम्रो जीवनकालमा ल्याएको यो सुनौलो मौकाको सदुपयोग गरौं यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने छन्, सुनिने छन्, विस्तारित हुने छन्।

हामीसँग समय धेरै छैन । आगामी मे १४ मा प्राइमरी निर्वाचन हुँदै छ। मेरो जीतका लागि निर्णायक चुनाव भनेकै यही डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जितियो भने नोभेम्बर ५ मा हुने आमनिर्वाचन एक किसिममको जीतको औपचारिकता मात्र हुने छ।

म यही प्रेस विज्ञप्तीमार्फत् अमेरिकामा रहेका सबै नेपाली सञ्चारकर्मी मित्रहरूलाई यो अभियानको मर्मलाई सम्पूर्ण नेपालीमा पुर्याइ दिन हार्दिक आव्हान गर्दछु । सम्भव हुन्छ भन्ने मेरो अभियानलाई इन्डोर्स गरेर आम नेपालीलाई यो लिंकमार्फत् सहयोगका लागि आव्हान गरिदिन पनि अनुरोध गर्दछु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप